मकवानपुरमा असुरक्षित महसुस गर्दै विप्लवका नेता, कार्यकर्ता

लोकखबर
३० चैत्र २०७५, शनिबार ०७:०६

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता कार्यकर्ता मकवानपुरमा पक्राउ परेका छन् । पार्टी मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान (ज्वाला) हेटौंडाबाट पक्राउ परेका हुन् । उनी सहित दुई जनालाई विहीबार हेटौंडाको फायरलाईनबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लियो ।
प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । ज्वालालाई प्रहरीले आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको छ ।
केही समय अघि मनहरी गाउँपालिका वडा नं. ३ मा भेटिएको विस्फोटक पदार्थमा उनको संलग्नता रहेको प्रहरीको आरोप छ । सोही आरोपका आधारमा उनलाई अदालतमा पेश गरिएको बुझिएको छ । उनीमाथि फौजदारी संहिताका आधारमा कानूनी कारवाही हुने स्रोतको भनाई छ । शुक्रबार अदालतमा हाजिर गराइएको भएपनि समय अभावका कारण उनको बयान हुन सकेन । उनलाई सोमबार अदालत उपस्थित गराउने आदेश भएको र सोही दिने लगायत आवश्यक कारवाही प्रकृया अघि बढ्ने जिल्ला अदालत मकवानपुरले जनाएको छ । नाकाबन्दीको समयमा ग्याँस र पेट्रोल काठमाडौ लादै गरेको अवस्थामा रोकेर सर्वसाधारणलाई बाँडेको आरोपमा नेता ज्वाला पक्राउ परेका थिए । त्यो बेला डाँका मुद्दामा जेल परेका उनी ४५ दिनपछि थुनामुक्त भएका थिए ।
मकवानपुर प्रहरीले यसअघि पनि विप्लव समूहका कार्यकर्ता भएको आरोपमा मकवानपुरका चार जनालाई पक्राउ गरी आवश्यक कारवाही प्रकृया अघि बढाएको थियो । सरकारले विप्लवको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि विप्लवका नेता कार्यकर्ताले असुरक्षित महसुस गरेको बुझिएको थियो । हेटौंडा बजारमा भेटिने पार्टीका नेता कार्यकर्ता अहिले भूमीगत बनेको प्रहरीको भनाई छ । मकवानपुर प्रहरीले विप्लवका नेता, कार्यकर्तालाई खोज्नका लागि विशेष रुपमा प्रहरी परिचालन गरेको बताइन्छ । विशेषगरी सादा पोशाकका सुरक्षाकर्मी विप्लव नेतृत्वको नेकपामा आबद्द नेता, कार्यकर्ता खोजीका लागि लागिपरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*