शिक्षाका लागि बेलकोटगढीको नयां योजना

– लिखुमा शुल्क निर्धारण
लोकखवर शिक्षा संवाददाता
२०८३ बैशाख १५, मंगलवार ००:१४

बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ । बेलकोटगढी नपाको कार्यालय वाघखोरले विद्यालय सञ्चालन, शिक्षकको उपस्थितिदेखि शैक्षिक गतिविधिसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन गरेको हो ।

बेलकोटगढी नपाले शैक्षिक सत्र २०८३ लाई लक्ष्यित गर्दै विद्यालयहरूमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नियमित कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, शिक्षक तथा कर्मचारीले विद्यालय समयमा अनिवार्य उपस्थित भई दैनिक शैक्षिक गतिविधि व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ । प्रत्येक दिन कक्षा सुरु हुनुअघि शिक्षकहरूले बैठक गरी अघिल्लो दिनको समीक्षा तथा आगामी दिनको तयारी गर्नुपर्ने नपाले जनाएको छ ।

विषय शिक्षकले दैनिक पाठ योजना तयार गरी शिक्षण कार्य सञ्चालन गर्नुपर्नेछ भने ‘टीआईपी’ तयार गरी कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी, प्रत्येक महिना कम्तीमा एकपटक सहकर्मी अवलोकन गर्नुपर्ने, प्रधानाध्यापकले नियमित कक्षा अनुगमन गरी प्रतिवेदन नगरपालिका कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षणलाई प्राथमिकता दिन पनि जोड दिइएको छ ।

विद्यालयमा ‘शिक्षण सहयोग समूह’ गठन गरी सक्रिय बनाउनुपर्ने, शिक्षकको उपस्थिति र कक्षाको समय तालिका कडाइका साथ लागू गर्नुपर्ने तथा शिक्षक–कर्मचारी र विद्यार्थीको नियमित उपस्थितिलाई अनिवार्य बनाइएको छ । यसका साथै, विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिको अभिलेखीकरण व्यवस्थित र पारदर्शी बनाउनुपर्ने, दैनिक तथा वार्षिक योजना तयार गरी अभिलेख राख्नुपर्ने र प्रशासनिक कार्यहरू तोकिएको मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने नपाद्वारा जारी सार्वजनिक सूचनामा जनाइएको छ । वेलकोटगढी नपाले जारी गरेको सोे निर्देशनले स्थानीय विद्यालयहरूको शैक्षिक अनुशासन र गुणस्तर सुधारमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यता, नुवाकोटको लिखु गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ । पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्षविरुद्ध गुनासो तथा उजुरी गर्नसमेत आग्रह गरिएको छ । अभिभावक तथा सरोकारवालाहरूलाई विद्यालयले लिने शुल्कबारे जानकारी लिएर अनियमितता भएमा शिक्षा शाखामा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।


सर्वाधिक रुचाइएको