बिदुरमा पानीबाट मासिक १७ लाख रुपैया संकलन

– १० लाख वचत, ऋण तिरिदै, सचिवले तोडे अनशन
लोकखबर
२०८३ बैशाख १६, बुधबार ०१:११

बिदुर – नुवाकोटको बिदुरमा पिउने पानीवाट मासिक १७ लाख रुपैया संकलन हुने गरेको छ । उक्त रकम ऋण तिर्न र कार्यालय सन्चालनका लागि खर्च हुदै आएको छ ।
बिदुर नगरपालिका क्षेत्रमा पिउने पानीको आपुर्ति तथा व्यवस्थापन गर्दै आएको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बिदुर नगर क्षेत्रमा पिउने पानी वितरण गरेर त्यसवापत उपभोक्तावाट मासिक १७ लाख रुपैया पानी महशुल संकलन हुदै आएको जनाएको छ ।

उक्त रकममध्ये सात लाख कर्मचारीको तलव तथा कार्याल सन्चालनमा खर्च हुदै आएको संस्थाले जनाएको छ । वांकी रहेको १० लाख रुपैया नगर विकास कोषको ऋण चुक्ता गर्ने कार्य भइरहेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले जानकारी दिए । संस्थामार्फत चारहजार आठसय उपभोक्ता रहेको र त्यसवाट मासिक रुपमा १७ लाख रुपैया पानी महशुल संकलन भइरहेकोसमेत उनले जानकारी दिए ।

उनले झण्डै सांढे तीन दशकको यात्रामा रहेको संस्थाले कार्यालय सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या नरहेको जनाएको छ । संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको विषयलाई लिएर सचिव रघुनाथ रिमाल सत्याग्रहमा बसेको प्रसंगलाई उल्लेख गर्दै संस्थाको आर्थिक अवस्था कमजोर नभएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठका अनुसार संस्थाको मासिक आम्दानी क्रमशः वृद्धि हुँदै गएको छ । नगर विकास कोषको ऋणसमेत घटाउन सकिने अवस्थामा संस्था पुगेको जानकारी दिए ।

संस्थाका अध्यक्ष श्रेष्ठले विदुर ५ पिपलटारका उपभोक्ताबाट उठाउन बाँकी शुल्क क्रमशः संकलन भइरहेको, हाल नगर विकास कोषको करिब २८ करोड रुपैयाँ ऋणको ब्याज तिर्दै आएको र अब साँवा रकमसमेत घटाउन सक्ने हैसियत संस्थासँग रहेको दाबी गरेका छन् । उनले संस्था कमजोर नभई अझ सबल बन्दै गएको, उपभोक्ताको विश्वास जित्दै निरन्तर खानेपानी सेवा उपलब्ध गराइरहेको तथा मासिक शुल्क संकलनमा समेत सुधार भइरहेको दावी गरे । संस्थाले प्रत्येक उपभोक्तासंग मासिक रुपमा प्रति १५ युनिट पानीको दुईसय ५० रुपैया पानी महशुल संकलन गर्ने गरेको छ ।

उक्त पत्रकार सम्मेलनमा सस्थाकी कोषाध्यक्ष अम्विका खनालचित्रकारसहित सम्पूर्ण सदस्यहरु दीपकवहादुर तिमिल्सिना, शंकर पाण्डे, गोविन्द अधिकारी, विन्दा सडौला र सीता अधिकारीको उपस्थिती रहेको थियो भने उपाध्यक्ष राजेन्द्र पाण्डे र सचिव रघुनाथ रिमाल अनुपश्थित रहेका थिए । यसैवीच, विदुर खानेपानी बचाउ अभियान राख्दै सचिवद्वारा गरिएको सत्याग्रह तोडिएको छ । नुवाकोटको विदुरमा सञ्चालित विदुर खानेपानी बचाउ अभियान अन्तर्गत विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले दुई दिनदेखि गरेको सत्याग्रह तोडिएको छ ।

उनले राखेका मागहरू यहि वैशाख २५ गते विदुरमा आयोजित सरोकारवालावीचको वैठकमा सम्बोधन गर्ने प्रतिबद्धतापछि सत्याग्रह अन्त्य गरेका हुन् । रिमालले विदुर ५ पिपलटारको समस्या समाधान, पानी दुरुपयोग नियन्त्रण, नगर विकास कोषको करिब २८ करोड ऋणसम्बन्धी विषय तथा संस्था निरन्तर घाटामा रहेको जनाउंदै संस्थालाई धरासायी हुनबाट जोगाउनुपर्ने र सर्वपक्षीय छलफल गर्नुपर्ने माग अघि सारेका थिए । रिमाललाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जुस खुवाउँदै औपचारिक रूपमा तोडाएका हुन् ।

साथै, उक्त विषयमा थप छलफल गरी उपयुक्त समाधान खोज्न आगामी २५ गते सर्वपक्षीय भेला आयोजना गरिएको छ । सत्याग्रहमा बसेका विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले उठाएका मागहरू सम्बोधन गर्ने मेयर राजन श्रेष्ठले प्रतिबद्धता जनाइएपछि सत्याग्रह तोडिएको हो । पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठले संस्थामा कुनै पनि समस्या नरहेको वताउंदै २५ गतेको वैठकले चारहजार आठसय उपभोक्ताको पक्षमा निर्णय गर्ने वताए ।


सर्वाधिक रुचाइएको