नेविसंघले किन लगायो मकवानपुर क्याम्पसमा ताला
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको आर्थिक प्रशासन शाखामा नेपाल विद्यार्थी संघले तालबन्दी गरेको छ । नेविसंघले क्याम्पसका विभिन्न शैक्षिक सवालमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि ध्यानाकर्षण नभएको भन्दै तालबन्दीमा गरेको जनाएको छ ।
पुस्तकालय शुल्क घटाउनुपर्ने, मनोमानी शैलीमा कर्मचारी नियुक्त गर्न नहुने, मनोमानी शैलीमा क्याम्पस हाताभित्र क्यान्टीन संचालन गर्न नहुने, शैक्षिक गुणस्तर बृद्धी गर्नुपर्ने, क्याम्पसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राखेर क्याम्पसमा नेविसंघ आन्दोलित छ ।
क्याम्पस सुधारका लागि विभिन्न माग राखेर क्याम्पस व्यवस्थापन पक्षलाई पटक–पटक आग्रह गर्दापनि आफूहरुको माग सम्बोधन नगरेको भन्दै तालबन्दीमै जानुपर्ने बाध्यता भएको नेविसंघ मकवानपुर सभापति राजु खतिवडाले जानकारी दिए ।
नेविसंघले केहीदिन अघि क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेको थियो । क्याम्पसको शैक्षिक सुधार तथा विद्यार्थी हकहितका लागि आफूहरु आन्दोलित हुनु परेको संघले जनाएको छ ।












































