आज लोकतन्त्र दिवस : नागरिकको सपना अझै अपूरा
मकवानपुर । आज वैशाख ११ गते लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र प्राप्ती भएको दिनका रुपमा आजका दिनलाई सम्झनुपर्ने हुन्छ । वि.सं.२०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलन २०६३ बैशाख ११ गते सफल भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेस, नेकपा एमाले लगायत सात राजनीतिक दलको नेतृत्वमा जनता सडकमा उत्रिएका थिए । जनताको आन्दोलन दबाउन नसकेपछि आजका दिन राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेका थिए ।
सात राजनीतिक दल तथा नागरिक त्यो बेलामा विघटित प्रतिनिधि सभा पुनस्र्थापनालगायतका माग राखेर आन्दोलनमा होमिएका थिए । राजाले कु गरेको त्यो अवस्थामा देशका विभिन्न पेशाकर्मी समेत लोकतन्त्रको नारा लगाउँदै सडकमा उत्रिएका थिए । आन्दोलनमा २५ जना नेपाली सहिद हुन पुगे । वि.सं.२०६१ माघ १९ को शाही कु पछि सुरु भएको आन्दोलनमा तत्कालीन विद्रोही नेकपा माओवादी समेत सामेल भएको थियो । लोकतन्त्र प्राप्ती भएको १२ औं वर्षमा जनताका कति सपना पूरा भए भएन भने समीक्षा भइरहेको छ ।
मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन, माओवादी सशस्त्र युद्द अन्त्य गर्ने ऐतिहासिक उत्सवका रुपमा आजका दिनलाई लिनुपर्दछ । राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर दलहरुलाई प्रतिबन्ध लगाउँदै वाक स्वतन्त्रता समेत हनन गरी नागरिकलाई आफ्नो अधिकारबाट बञ्चित गराएपछि जनतामा जागेको जागरणका कारण मुलुकमा लोकतन्त्र स्थापना भएको हो ।
नेपालमा लोकतन्त्र पुनर्वाहलीसंगै केही महत्वपूर्ण उपलब्धि भए भने अझै जनताका सपना पूरा भएका छैनन् । संविधानसभा लगायतका माग राख्दै सशस्त्र विद्रोहमा होमिएको तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण राजीनितीमा रुपान्तरण, मुलुकमा वंश साशन अन्त्य भई जनताले आफू कार्यकारी भई शासन सञ्चालन, मुलुकमा संविधानसभाको निर्वाचन, संविधान जारी तथा संघीयता कार्यान्वय भई केन्द्रिकृत साशन विकेन्द्रिकरण हुनु महत्वपूर्ण उपलब्धी हो । स्थानीय, प्रदेश, तथा संघीय निर्वाचन भई मुलुकमा संघीयता कार्यान्वयनको गति अगाडी बढ्नु पक्कै महत्वपूर्ण उपलब्धी हो । तर नेपाली जनताका माझमा हिजो बाँडिएका सपनाहरु भने पूरा हुन अझै बाँकी छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा चलेपनि राजनीतिक दलले बाँडेको समृद्दि लगायतका सपना भने सपनामै सिमित हुने हो की भन्नेमा आम सर्वसाधारण चिन्तित बनेका छन् । नेपाली वीर सपुतको त्याग तथा बलिदानीबाट प्राप्त लोकतान्त्रिक व्यवस्था रक्षा गर्दै नागरिकलाई सुशी, समृद्घि बनाउँने कार्यमा चुकीरहेका दल, सरकारले आफ्नो भूमिका सशक्त बनाउँनुपर्ने देखिन्छ ।