तारकेश्वरमा महिला सशक्तिकरण कार्यक्रम
बिदुर – ग्रामीण महिलाहरुलाई सशक्तिकरणमा जोड दिदै नुवाकोटको तारकेश्वर गाउंपालिकाले आर्थिक तथा भौतिक सामग्री सहयोग गरेको छ । महिला सशक्तीकरण अभियान अन्र्तगत तारकेश्वर गापा १ का दुई आमा समूहलाई डेढ लाख रुपैया नगद र साउन्ड सिस्टम हस्तान्तरण गरिएको हो । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले महिला सशक्तीकरण अभियान अन्तर्गत महिला स्वावलम्बन, महिला जीविकोपार्जन तथा सहभागितामुलक कार्यक्रमलाई निरन्तरता दिँदै मंगलवार दुई आमा समूहलाई आर्थिक तथा भौतिक सहयोग हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष अधिकारीले तारकेश्वर १ को तल्लोहिलेस्थित त्रिजटेश्वर आमा समूहलाई एक लाख र ढाडाखर्कस्थित जागृति महिला समूहलाई ५० हजार रुपैया नगद सहयोग हस्तान्तरण गरेका हुन् । सोही अवसरमा अध्यक्ष अधिकारीले त्रिजटेश्वर आमा समूहलाई भजन कीर्तन र अन्य सामुदायिक अभियान कार्यक्रम सञ्चालनका लागि आवश्यक साउन्ड सिस्टम हस्तान्तरण गरे ।

त्रिजटेश्वर महादेव मन्दिर परिसरमा भक्तजनहरूको सुविधाका लागि तत्कालै प्रतिक्षालयको निर्माण सुरु गर्न समेत अध्यक्ष अधिकारीले निर्देशन दिए । जागृति महिला समूहलाई पनि यसअघि नै साउन्ड सिस्टम हस्तान्तरण गरिसकिएको थियो । अध्यक्ष अधिकारीले यस अघि नै महिला सशक्तीकरण अभियान अन्तर्गत जागृति महिला समूहलाई एक लाख रुपैया सहयोग हस्तान्तरण गरेका थिए ।

आफुले जनप्रतिनिधि हुनु भन्दा अगाडिदेखि नै सामुदायिक कार्य गरेकोसमेत उनले वताए । त्यस्तै, सोही भेगको कात्तिकेस्थित आमा समूहलाई पनि नगद सहयोग तथा साउन्ड सिस्टम हस्तान्तरण गरिसकिएको छ । अध्यक्ष अधिकारीले महिला स्वावलम्बन र जीविकोपार्जनका माध्यमबाट महिलाहरूको सशक्तीकरण र सबलीकरण हुन सक्ने निष्कर्ष सहित लामो समयदेखि महिला समूह, आमा समूह र किशोरी समूहहरूमार्फत सीप विकास र आयआर्जनका कार्यक्रमहरूका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउँदै आएको वताए ।
















































