‘समाचार लेख्न स्वतन्त्रता चाहियो’
मकवानपुर । स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउँनुपर्ने माग सहित मकवानपुरका पत्रकारले आज हेटौंडामा प्रभात फेरी गरे ।
आफ्नो पक्षमा समाचार नलेख्ने पत्रकारसंग वर्तमान सरकार प्रतिशोधमा उत्रिरहेको प्रभातफेरीपछिको कोणसभामा आरोप लगाइयो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हेटौंडाको सिमाचोकदेखि हेडम्बा हाइट हुँदै पुन ः सिमाचोक आइपुगेर प्रभातफेरी कोणसभामा परिणत भएको हो ।
कोणसभामा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्णसारु मगरले श्रमजिवी पत्रकारलाई समाचार लेख्नका लागि स्वतन्त्रता चाहिएको बताए । उनले पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकारले असुरक्षित महसुस गर्ने वातावरण बनिरहेको भन्दै आफूहरुलाई स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न दिन राज्यसंग माग गरे । पत्रकारलाई सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा पक्राउ गर्नु, थुन्नुजस्ता कार्य निन्दनीय भएकाले आफूहरु आन्दोलिन हुने अवस्थामा पुगेको उनको भनाई छ ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले पनि समाचार लेख्नु पत्रकारको धर्म भएको बताउँदै स्वतन्त्र पूर्वक रुपमा लेख्न पाउनुपर्ने माग गरे ।
प्रभातफेरीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत मकवानपुरका पत्रकारहरुको सहभागिता थियो ।