प्रदेश ३ सरकारले किन खटायो स्वयंसेवक
मकवानपुर । प्रदेश ३ को मकवानपुर सहित १३ जिल्लामा विभिन्न क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकारले स्वयंसेवक परिचालन गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयले प्रदेशका सबै जिल्लामा विभिन्न एघार वटा बिषयगत क्षेत्रका एक सय १५ जना युवालाई प्रदेशको विकासका लागि उनीहरुलाई खटाइएको हो ।
‘युवाको गौरब, जवानीमा पौरख, प्रदेशको शौरभ’ भन्ने नाराका साथ मन्त्रालयले प्रदेश सरकारको प्रदेश विकास स्वयंसेवक कार्यक्रमबाट खटाइएको जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मावि शिक्षक ४ जना, हेल्थ असिस्टेन्ट ७ जना, स्टाफनर्स ८ जना, अनमी ६ जना, बायोमेडिकल टेक्नीसियन २ जना, फार्मेसी सहायक ३ जना, खेलकुद प्रशिक्षक २६ जना, कृषि प्राविधिक सहायक १६ जना, पशु प्राविधिक सहायक १३ जना, सहयोगापेक्षी सडक मानवमुक्त सहजकर्ता १७ जना, बालविवाह मुक्त प्रदेश सहजकर्ता १३ जना स्वयंसेवक खटाइएको हो । उनीहरुलाई तालिम प्रदान गरेर आफ्नो कार्य क्षेत्रमा खटिनका लागि दक्ष बनाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।