अदिवासी जनजाती चलचित्र महोत्सव सुरु
बिदुर – मौलिक संस्कृति तथा पहिचान संरक्षण गर्ने उद्धेश्यले छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । यसले नेपालको आदिवासी जनजाती संस्कृतिको् संरवद्र्धन हुने अपेक्षा गरिएको छ । चलचित्र विकास वोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित “छैटौं आदिवासी चलचित्र महोत्सव –२०८३“ वोर्डको प्रेक्षालयमा सुरु भएको हो ।

आदिवासी जनजाति समुदायका विभिन्न सांस्कृतिक झाँकीसहित सन्चालन भएको महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरेका हुन् ।अध्यक्ष डिसीले वोर्डले चलचित्रमा विविधता समावेश गर्ने उद्धेश्यले सन्चालित महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, लोकज्ञान र मौलिक पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्ने महत्वपूर्ण उद्देश्य बोकेको वताए । उनले चलचित्र विकास बोर्ड आदिवासी जनजाति चलचित्र, मातृभाषी चलचित्र तथा मौलिक सांस्कृतिक अभिव्यक्तिको संरक्षण र प्रवद्र्धनमा निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको वताए ।

“आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ सन्चालित महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘ह्याङ तामाङ’ र ‘निको पहिचान’ प्रदर्शन गरिएको छ । महोत्सव अवधिभर विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् ।

विभिन्न सांस्कृतिक झांकी, नृत्य, वाद्यवादनसहित आदिवासी चलचित्रहरु प्रदर्शन भईरहेको सो महोत्सवमा १४ वटा मातृभाषी चलचित्रकर्मी संघको सहभागिता छ ।महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आलेमगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।

लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् । वृत्तचित्रतर्फ अनील मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । बोर्डले यस वर्ष चलचित्र प्रवद्र्धन सम्वन्धि विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

















































