फरार प्रतिवादी पक्राउ
बिदुर – नुवाकोटको छिमेकी रसुवामा विभिन्न घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना फरार प्रतिवादी तथा दुई जना लागू औषध मुद्धामा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये जवरजस्ती करणी मुद्धामा गत २०८२ साल साउन २७ गतेदेखि फरार रहेका नुवाकोटको गेर्खुका एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका १० गेर्खुका २८ वर्षिय प्रभाष तामाङ रहेको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिएका छन् । तामाङलाई प्रहरीले काठमाडौंको तारकेश्वर नपा सानोपुलवाट पक्राउ गरेको हो । जिल्ला अदालतवाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ ।
यसैवीच, लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तरगया गाउँपालिका–२ सिम्लेका २४ वर्षीय दिनेश तामाङलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार प्रहरी चौकी डाँडागाउँबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा दिनेश तामाङको घरकोठामा खानतलासी गर्दा कोठाभित्र रहेको झोलाबाट ५८ ग्राम गाँजाजस्तो देखिने पदार्थ र लागू औषध ट्रामाडोल १७ क्याप्सुल वरामद गरेको प्रहरी निरीक्षक राजु शाहको भनाई छ ।

उनका अनुसार प्रहरीले बरामद लागू औषधसहित तामाङलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको जनाएको छ । यस सम्बन्धमा रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैवीच, लागूऔषध हिरोइनसहित अर्का एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले गोसाइकुण्ड गापा ५ स्याफ्रुवेशीस्थित पासाङल्हामु मार्गको सडकखण्डमा चेकजांच गर्ने क्रममा कालिका गापा १ राम्चे घर भएका २७ वर्षिय राजु तामाङलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार तामाङलाई चेकजौच गर्ने क्रममा उनले लगाएको जिन्स पाइण्टको दायौतर्फको अगाडिको खल्तीवाट लागू औषध हिरोइन जस्तो देखिने पदार्थ झण्डै एकसय मिलिग्राम र नाइट्रभेट १० लेखिएको १२ क्याप्सुलसहित फेला पारेको कारण नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रसुवा र प्रहरीचौकी स्याफ्रुवेशीवाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला अदालतवाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइएको प्हरी निरीक्षक राजु शाहले जानकारी दिए ।











































