एकिकरण पदमार्गको स्तरोन्नती तथा पुर्ननिर्माण

– सेनाको शीघ्र प्रभावी आयोजना
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ २८, बिहीबार ०१:४३

बिदुर – नुवाकोटको ऐतिहासिक स्थल एकीकरण पदमार्गको स्तरोन्नति तथा पुर्ननिर्माण गरिएको छ । यसवाट ऐतिहासिक स्थलहरुको संरक्षणमा मद्धत पुगेको छ ।नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ मा विदुर नगरपालिका १० स्थित शुभघाटदेखि गेर्खुटारसम्मको एकीकरण पदमार्ग स्तरोन्नती तथा गोरेटो बाटोमा सिँढी निर्माण कार्य गरिएको हो । उक्त निर्माण कार्य सेनाले विदुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सेनाले पृथ्वीनारायण शाहले नुवाकोटमा एकीकरण पदमार्गका रुपमा रहेको उक्त स्थानमा तीनसय मिटर लामो सिढी निर्माण गरि बिदुर नपाका मेयर राजन श्रेष्ठलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा सेनाको ६ नंबाहिनी अड्डाका सहायक रथी (बाहिनीपति) उज्जवलविक्रम राणाले नवनिर्मित सिंढी हस्तान्तरण गरेका हुन् । उनले सामुदायिक विकास र जनताको सेवामा नेपाली सेना क्रियाशील रहेको वताए । सेनाले अन्य सामुदायिक कार्यमासमेत सक्रियता देखाइरहेको राणाले वताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, अन्य जनप्रतिनिधि, सर्वसाधारणसहित कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठले बिदुर नपासंगको सहकार्यमा निर्माण थालिएको ऐतिहासिक पदमार्ग–सिढीँ निर्माण कार्यको बाँकी रहेका स्थानसहित अध्ययन भएका अन्य योजनालाई क्रमशः आगामी आर्थिक वर्षमा निरन्तरता दिनको लागी नेपाली सेना समक्ष आग्रह गरेका छन् ।

नेपाल एकीकरणको समयमा यसका सुरुवातकर्ता पृथ्वीनारायण शाह र उनको सैनिक फौजले यात्रा गरेको पदमार्गको रुपमा गारखा–धादिङ–नुवाकोट हुदैँ काठमाडौसम्मलाई एकीकरण पदमार्गको रुपमा पहिचान, संरक्षण एंव प्रचारमा जोड दिएको छ । सोे पदमार्गको नुवाकोटको भूमि झण्डै ४४ किलोमिटर रहेको छ । नुवाकोटको पश्चिमी भेग भ¥याङभुरुङ, सामरी, डेउडी, शुभघाट, नुवाकोट दरबार, महामण्डल, शेरा, चतुराले हुँदै ककनी, रानीपौवा ओखरपौवासम्म पर्दछ ।
यस एकीकरण पदमार्गमा सिढी निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवद्र्धन, ऐतिहासिक सम्पदाको संरक्षण तथा स्थानीय आर्थिक गतिविधिलाई थप मद्धत पुग्ने अपेक्षा गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमासमेत टेवा पुगेको छ ।


सर्वाधिक रुचाइएको