धान दिवसमा किसानले मागे मल

– दिवसलाई औपचारिकतामा सिमित नगर्न आग्रह
लोकखबर
२०८३ असार १६, मंगलवार ००:१२

बिदुर – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव नुवाकोटमा विविध कार्यक्रमसहित मनाइएको छ । नुवाकोटको बिदुर, बेलकोटगढी, लिखु, शिवपुरी, ककनी, तारकेश्वरलगायतका स्थानमा विभिन्न कार्यक्रम गरि धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा नुवाकोटको विभिन्न स्थानमा धान दिवस तथा रोपाइँ महोत्सव गरिएका हुन् । किसानहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।

किसानहरुले आवस्यक मल, विय, विजन तथा किटनाशस औषधि समयमै व्यवस्थापन गर्न सरोकारवालासंग माग गरे । उनीहरुले धान दिवसलाई औपचारिकतामा मात्रै सिमिति नगर्न आग्रह गरे । धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा नुवाकोटमा उचाइमा रहेको साल्मेमा मार्सी धान रोपिएको छ । समुद्री सतहबाट एकहजार नौसय मिटर उचाइमा रहेको किस्पाङ गाउँपालिका–४ साल्मेमा रातो मार्सी धान रोपिएको हो ।

किस्पाङ गाउँपालिकाको आयोजनामा, किस्पाङ ४ वडा कार्यालयको सह–आयोजना तथा संगम कृषक समूहको संयोजनमा स्थानीय कृषकहरूको सहभागितामा मार्सी धान रोपाइँ कार्यक्रम सम्पन्न भएको हो । उच्च पहाडी भेगमा पौष्टिक तथा गुणस्तरीय रातो मार्सी धानको संरक्षण, प्रवद्र्धन र उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किस्पाङ गापा कावा अध्यक्ष अर्जुनप्रसाद न्यौपानेको भनाई छ । उनका अनुसार राष्ट्रिय धान दिवसलाई कृषि उत्पादनसँग जोड्दै स्थानीय कृषकलाई परम्परागत तथा रैथाने बालीतर्फ आकर्षित गर्ने लक्ष्यसहित सामूहिक रूपमा धान रोपाइँ गरिएको हो ।

कार्यक्रममा किस्पाङ गापा कावा अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, किस्पाङ ४ का वडाध्यक्ष विनोद तामाङ, कृषि शाखाका कर्मचारी तथा स्थानीय किसानहरूकोसहभागिता रहेको थियो । सहभागीहरूले उच्च पहाडी क्षेत्रमा समेत मार्शी धानको उत्पादन विस्तार गर्न सकेमा स्थानीय खाद्य सुरक्षामा मद्धत पुग्नुका साथै रैथाने बालीको संरक्षण र किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । किस्पाङ गापाले आगामी दिनमा पनि स्थानीय जातका बालीको संरक्षण र व्यावसायिक उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।

धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा नुवाकोटको लिखुस्थित थानसिङमा विभिन्न कार्यक्रम गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटको आयोजनमा थानसिङमा धान दिवस तथा रोपाई महोत्सव गरिएको हो । “सातामा ६ दिन काम पेटको लागि, १ दिन श्रमदान देशको लागि“ भन्ने मूल नारासहित श्रम संस्कृति पार्टी, नुवाकोटको आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा सम्पन्न भएको छ ।

कार्यक्रममा श्रम संस्कृति पार्टी नुवाकोट जिल्ला अध्यक्ष श्रीमाया तामाङ, जिल्ला कार्यसमितिका पदाधिकारी, नेताहरू, स्थानीय किसान तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै श्रमदान गरेका थिए । कार्यक्रममार्फत श्रमको सम्मान, कृषि संस्कृतिको संरक्षण र सामूहिक श्रमको महत्वलाई उजागर गरिएको आयोजकले जनाएको छ ।

सामूहिक श्रम र कृषिप्रतिको सम्मानलाई प्रवद्र्धन गर्ने यस्ता कार्यक्रमले सामाजिक एकता, उत्पादनशीलता र श्रम संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । आयोजकले कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण सहभागी, किसान, स्थानीयवासी तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।


सर्वाधिक रुचाइएको