मासिक उत्कृष्ट कर्मचारी सम्मानित

– त्रिशूली अस्पतालको त्रैमासिक समिक्षा
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ असार १६, मंगलवार ००:२२

बिदुर – नुवाकोटको त्रिशूली अस्पतालले मासिक रुपमा उत्कृष्ट कर्मचारी छनौट गरि सम्मानित गरेको छ । अस्पतालमा आयोजित त्रैमासिक कार्य समीक्षा, तथ्याङ्क भेरिफिकेसन तथा उत्कृष्ट विभाग र कर्मचारी घोषणासहित सम्मानित कार्यक्रम गरिएको हो । अस्पताल व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले प्रत्येक तीन महिनामा आयोजना हुने नियमित कार्यतालिका अनुसार उक्त कार्यक्रम सम्पन्न भएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र लामाको भनाई छ ।

अस्पतालले मासिक उत्कृष्ट कर्मचारीका रूपमा एनेस्थेसियोलोजिस्ट डा. सुजन केसी, उत्कृष्ट विभागका रूपमा इमर्जेन्सी विभाग, कम्प्युटर अपरेटर बिनिता अधिकारी र कार्यालय सहयोगी प्रेममाया तामाङलाई सम्मानित गरेको हो । कार्यक्रममा गत चैत, वैशाख र जेठ महिनाको मासिक तथ्याङ्क सङ्कलन, डाटा भेरिफिकेसन, प्रस्तुतीकरणका साथै ई–वार्स ओरियन्टेसनसमेत सञ्चालन गरिएको छ । त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकी, सदस्य अन्जली पाण्डे, विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले मासिक रुपमा उतकृष्ट कर्मचारीलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा अस्पतालका प्रमुख डा. राजेज्द्र लामाले अस्पतालको सेवा सन्चालन, वर्तमान अबस्था तथा भावी रणनीतिको सम्बन्धमा जानकारी सहितको योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो विभागको सेवा प्रवाह, अवस्था र चुनौतीबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । इमर्जेन्सी विभागको तर्फबाट नोबिना बस्नेतले कुल बिरामी, बिमा तथा गैर–बिमा सम्बन्धी सेवा, चारु थापा मगरले सर्जरी विषयहरू, प्रियङ्का शाहले प्रयोगशाला (ल्याब), मुना पाण्डेले हेमोडायलिसिस र चक्र थापाले एआरटी काउन्सिलिङ सेवाबारे जानकारी गराएका थिए ।

अञ्जना पाठकले जेनेरल वार्ड, बसन्ती पन्तले म्याटरनिटी वार्ड, शारदा पराजुलीले सामाजिक सेवा एकाइ र सोनिया मगरले आइसीयू विभागको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । त्रैमासिक कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक अस्पतालको इमर्जेन्सी विभागलाई ‘उत्कृष्ट विभाग’ घोषणासंगै सममानित गरिएको छ । सेवा सन्चालनमा उत्कृष्ट योगदान पु¥याएबापत एनेस्थेसियोलोजिस्ट डा. सुजन केसी, कम्प्युटर अपरेटर विनिता अधिकारी र कार्यालय सहयोगी प्रेममाया तामाङलाई त्रैमासिकको ‘उत्कृष्ट कर्मचारी’ घोषित गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी बिदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थले अस्पतालले सिमित स्रोत साधनका वावजुद विरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने विस्वास व्यक्त गरे । त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको छ ।


सर्वाधिक रुचाइएको