पेट्रोलियम पदार्थको मूल्यमा कटौती
बिदुर – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । मध्यरातिदेखि पेट्रोल प्रतिलिटर २० रुपैयाँ र डिजेल ३० रुपैयाँले घटेको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एकसय रुपैयाँले घटेको निगमले जनाएको छ । नेपाल आयल निगमले मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एकसय रुपैयाँले घटेको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले असार १७ गते विहानको राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २ सय ६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।











































