ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

– छाता तथा लौरो प्रदान
लोकखबर
२०८३ असार १६, मंगलवार २३:५६

बिदुर – नुवाकोटको बेलकोटगढी नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । कार्यक्रमकावीच ज्येष्ठ नागरिकहरूलाई छाता र लौरोसमेत प्रदान गरिएको छ । बेलकोटगढी नपा १० द्वारा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ७० वर्षभन्दा माथि उमेर समूहका सबै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै छाता तथा लौरो वितरण गरिएको हो ।

यसका साथै, विगतमा जनप्रतिनिधिको रूपमा गाउँ तथा समाजको विकासमा उल्लेखनीय योगदान पु¥याएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान गरिएको छ । ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले ७० वर्ष वा सोभन्दा माथिका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप छाता तथा पदयात्रा (हिँड्ने) लौरो वितरण गरिएको हो । वेलकोटगढी १० वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकलाई सामग्री हस्तान्तरण गर्दै परिवार, समाज र राष्ट्र निर्माणमा उहाँहरूले पु¥याएको अतुलनीय योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो ।

वर्षायाम तथा घामबाट सुरक्षा प्रदान गर्नुका साथै दैनिक हिँडडुललाई सहज र सुरक्षित बनाउने उद्देश्यले छाता र पदयात्रा लौरो वितरण गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रमको विशेष आकर्षण ७० वर्ष उमेर पूरा गरिसकेका पूर्व जनप्रतिनिधिको सम्मान रहेको थियो । गाउँ तथा समाजको विकास, स्थानीय शासनको सुदृढीकरण र जनसेवामा उल्लेखनीय योगदान पु¥याएका पूर्व जनप्रतिनिधि खोपप्रसाद पाण्डे, खोपराज पाण्डे तथा कालीबहादुर तिवारीलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा उनीहरूको नेतृत्व, इमानदारी, समर्पण र जनसेवाप्रतिको निष्ठाको उच्च प्रशंसा गर्दै समाजमा पु¥याएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरिएको थियो ।कार्यक्रमान वडाध्यक्ष प्रल्हादप्रसाद थपलिया, वडा सदस्य शेरवहादुर गजुरेललगायतले ज्येष्ठ नागरिक समाजका जीवित इतिहास, अनुभवका भण्डार र मार्गदर्शक व्यक्तित्व भएको उल्लेख गर्दै उनीहरूको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । छाता र पदयात्रा लौरोले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गर्दै विगतमा जनप्रतिनिधिका रूपमा गाउँ र समाजको विकासमा योगदान पु¥याएका अग्रजलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए ।

सम्मानित पूर्व जनप्रतिनिधि कालीबहादुर तिवारीले स्थानीय सरकारले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा आभार व्यक्त गर्दै यो सम्मान गाउँ र समाजको हितका लागि निस्वार्थ सेवा गर्ने सम्पूर्ण जनप्रतिनिधिप्रतिको सम्मान भएको बताए । यस्ता कार्यक्रमले सेवा गर्ने संस्कृतिलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई समाजप्रति जिम्मेवार बन्न प्रेरणा दिने उनको भनाइ छ ।

 

 

 


सर्वाधिक रुचाइएको