कालो स्टिकर हटाउने अभियान
बिदुर -अपराधिक गतिविधि नियन्त्रणका लागि नुवाकोटमा सवारी साधनमा टांसिएका कालो सिसा तथा कालो प्लास्टिक स्टिकर हटाउने अभियान सन्चालन गरिएको छ । नियम उल्लंघन गर्नेलाई कारवाही गरिने जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले नुवाकोटका विभिन्न सवारी साधनमा राखिएका कालो स्टिकर हटाउन थालेको हो ।

टोखा–छहरे सडकखण्ड हुँदै सञ्चालन हुने गाडीमा राखिएका कालो स्टिकर हटाउन थालिएको ट्राफिक प्रहरी प्रमुख प्रहर िनिरीक्षक विनोद ढकालले जानकारी दिए ।नुवाकोटमा सवारी साधनमा जडान गरिएका कालो सिसा तथा कालो प्लास्टिक स्टिकर हटाउने अभियान पहिलो पटक सुरु गरिएको हो । कालो स्टिकर हटाउने अभियानलाई निरन्तरता दिई एक सातापछि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाइएको छ ।

निजी, सार्वजनिक र सरकारी गरी ३० थान सवारीबाट कालो स्टिकर हटाइएको नुवानकोट ट्राफिक प्रहरीले जनाएको छ । एकसय भन्दा बढी सवारी चालकलाई नियम पालना गर्न सम्झाइबुझाइ गरिएको र पुनः अटेर गरेमा कानूनबमोजिम जरिवाना गरिने प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेन्द्र बिष्टका अनुसार अभियानलाई निरन्तर सञ्चालन गरिनेछ ।

अभियान सुरु भएको एक सातापछि पनि नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए । ट्राफिक प्रहरीले सवारी साधनमा कालो सिसा वा कालो स्टिकर प्रयोग गर्दा सुरक्षा निकायको निगरानीमा समस्या हुने तथा दुर्घटना अनुसन्धानमा समेत कठिनाई पर्ने भएकाले यस्तो अभियान सञ्चालन गरिएको जनाएको छ । प्रहरीले सबै सवारीधनीलाई स्वेच्छाले नियम पालना गर्न आग्रह गर्दै अटेर गरेमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने चेतावनी दिएको छ ।

नुवाकोट जिल्ला स्थित टोखा छहरे भएर सञ्चालित तथा नुवाकोट जिल्ला आसपासमा चल्ने सवारी साधन हरुमा राखिएका कालो सिसा तथा कालो प्लास्टिकका स्टिकर टासिएको विभिन्न सवारी साधनहरूबाट त्यस्ता स्टिकरहरू हटाइएका तथा कालो सिसा हटाउनका लागि अनुरोध गरिएको छ । सवारी साधनहरुले कालो स्टिकर नहटाएमा अथवा कालो सिसा प्रयोग गरेको पाइएमा हदैसम्मको जरिवाना हुनेसमेत जनाइएको छ ।











































