धानमा क्षति पुगेका किसानलाई बजेट
बिदुर – वर्षातबाट धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई आर्थिक राहत दिन नुवाकोटको तारकेश्वर गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गपाले यस वर्ष त्यसका लागि कुल ५० लाख रुपैया विनियोजन गरेको हो । तारकेश्वर गापाले गत वर्षको कार्तिक महिनाको झरीका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन यस वर्ष ५० लाख रुपैयाको धानबाली क्षतिपूर्ति कोष स्थापना गरेको हो ।
यसका लागि गापाले उक्त बजेट विनियोजन गरेको हो । यसअघि गत पुस १६ गते गाउँ कार्यपालिका बैठकले ५० लाखको कोष स्थापना गर्ने निर्णय गरेको थियो । त्यसवेला तत्काल १० लाख कोषमा जम्मा गर्ने र बाँकी ४० लाख आगामी बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको थियो ।

गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले क्षतिको यथार्थ विवरणका आधारमा प्रभावित सबै किसानलाई क्षतिपूर्ति रकम वितरण गर्ने व्यवस्था मिलाउन कृषि शाखालाई निर्देशन दिएका छन् । गत वर्ष कार्तिक ११ देखि १५ गतेसम्मको लगातार झरीका कारण खेतमै रहेको धानबालीमा ठूलो क्षति पुगेको थियो । लगत्तै अध्यक्षको निर्देशनमा प्राविधिक टोलीले सबै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गरेको थियो ।
वडाध्यक्षहरू र प्राविधिक टोलीको संयुक्त अनुगमनबाट सातसय कृषक परिवार प्रभावित भएको तथ्यांक संकलन भएको छ । सोही विवरणका आधारमा प्रभावित किसानलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराइने तारकेश्वर गापाले जनाएको छ । तारकेश्वर नुवाकोटको पर्यटकिय गापा हो ।












































