नायक खड्काको पुुस्तक सार्वजनिक
बिदुर – नायक तथा लेखक नवल खड्काको पुस्तक प्रकाशित भएको छ । उक्त ‘नवल खड्का’ पुस्तक तिङ्करको १ नम्बर सीमा स्तम्भमै पुगेर विमोचन गरिएको हो ।‘० नम्बर पिलर देखाऊ, सीमामा काँडेतार लगाऊ’ भन्दै सरकारलाई नवल खड्काले आग्रहसमेत गरेका छन् ।
नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर) उचाइमा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमै राष्ट्रवादी चलचित्रका सर्जक, नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक विमोचन गरिएको हो । ५,२५८ मिटर उचाइमा रहेको तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भमै पुगेर पुस्तक विमोचन गर्नु ऐतिहासिक र साहसिक कार्य भएको सहभागीहरुले वताए । अभिनेता तथा लेखक नवल खड्काको राष्ट्रप्रेम, साहस र समर्पणको प्रशंसा गरिएको छ ।

कार्यक्रमका अध्यक्ष सुनील सिंहले स्वदेशी चलचित्रको पक्षमा उभिनु आफ्नै देशप्रतिको सम्मान, जिम्मेवारी र आत्मगौरव भएको बताए । उनले देशभक्त कलाकार खड्काको योगदानलाई राज्यले समयमै सम्मान गर्नुपर्ने धारणा राखे । उनले लेखक तथा कलाकार खड्कालाई “देशप्रेमको सशक्त आवाज” को संज्ञा दिए ।
कार्यक्रममा अभियानका सचिव प्रकाश बमले राष्ट्रभक्तिपूर्ण चलचित्र निर्माणका क्रममा विभिन्न बाधा, अवरोध र प्रतिबन्धको सामना गरेका लेखक नवल खड्काले आफ्ना अनुभवहरू समेटेर लेखेको ‘नवल खड्का’ पुस्तकले हरेक नेपालीलाई राष्ट्रका पक्षमा आवाज उठाउन, देशप्रती कर्तव्यबोध र दायित्व निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले पुस्तक सबै नेपालीले कम्तीमा एकपटक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नवल खड्काजस्ता देशभक्त नायक, निर्माता, निर्देशक तथा लेखकलाई सम्पूर्ण नेपालीले साथ दिनुपर्ने धारणा राखे । कार्यक्रममा लखक तथा कलाकार नवल खड्काले आफ्नो ‘नवल खड्का’ पुस्तक तथा ‘भिमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा राष्ट्रको सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि समर्पण गर्ने घोषणा गरे ।

उनले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई सीमा सुरक्षाको पूर्ण जिम्मेवारी, १६ वर्ष उमेर पुगेका प्रत्येक नेपालीलाई आधारभूत सैनिक तालिम प्रदान गर्ने व्यवस्था, तथा ‘शान्ति क्षेत्र नेपाल’ घोषणालाई पुनर्जीवित गर्नुपर्ने माग गरे । खड्काले अगाडि भने, “हामी ० नम्बर पिलर खोज्न गयौँ, तर भेटिएन, त्यसैले सरकारसँग मेरो खुला चुनौती छ—० नम्बर पिलर कहाँ छ? देखाइयोस्, महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुगेर स्थानीयसँग एक रात बसेर वास्तविक अवस्था बुझ्न म सरकारलाई चुनौती दिन्छु ।” उनले अब थप ढिलाइ नगरी जङ्गे सीमा स्तम्भलाई आधार मानेर सम्पूर्ण नेपाली सीमामा काँडेतार लगाउने कार्य तत्काल सुरु गर्न सरकारसँग आग्रह गर्दै तिङ्कर भञ्ज्याङको १ नम्बर सीमा स्तम्भबाट सीमा सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा सशक्त सन्देश दिएका छन् ।
यसै क्रममा नवल खड्काले तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी त्यहाँबाट कैलाश–मानसरोवरको दर्शन गर्न सकिने वातावरण तयार गर्न सरकारसँग आग्रह गरे ।यस्तो पूर्वाधार निर्माण गर्न सके धार्मिक तथा पर्यटकीय पर्यटनको ठूलो सम्भावना खुल्ने, स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने र नेपालले वार्षिक रूपमा अर्बौं रुपैयाँ आम्दानी गर्न सक्ने उनको भनाइ छ । उनले यस सम्भावनालाई मूर्त रूप दिन सरकारलाई आवश्यक पूर्वाधार निर्माण तथा दीर्घकालीन योजना अघि बढाउन आग्रह गरे ।













































