सामुदायिक वनको आफ्नै सःमिल
बिदुर – नुवाकोटको माझिगाउस्थित एक सामुदायिक वनले पहिलो पटक आफ्नै आधुनिक सःमिल तथा फर्निचर उद्योग सञ्चालन गरेको छ । त्यसका लागि आवस्यक यन्त्रउपकरणहरु हस्तान्तरण गरिएको छ । विदुर नगरपालिका–८ स्थित माझिगाउँ सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत आधुनिक काठ प्रशोधन तथा फर्निचर उद्योग सन्चालन गरिएको छ ।

काठ प्रशोधन तथा फर्निचर उत्पादनका लागि आवश्यक १० प्रकारका अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका उपकरणहरूमा काठ चिरान गर्ने मेसिन, काठ चिल्लो बनाउने मेसिन, काठ जोड्ने मेसिन, काठमा बुट्टा बनाउने मेसिन, काठमा प्वाल पार्ने मेसिन, विद्याुतीय ग्राण्डर, मल्टिफङ्सनल काठ प्नानर मेशिनलगायतका आधुनिक औजारहरू रहेका छन् । माझिगाउँ सामुदायिक वनले विगतदेखि निजी क्षेत्रसँगको साझेदारीमा फर्निचर तथा काठजन्य सामग्री उत्पादन र बिक्री–वितरण गर्दै आएकोमा अब आफ्नै आधुनिक सःमिल सन्चालन गरेको छ ।

यसवाट समिलमा उपकरणहरूको प्रयोगमार्फत गुणस्तरीय काठ चिरान, मूल्य अभिवृद्धियुक्त तथा आधुनिक डिजाइनका फर्निचर उत्पादन गरी स्थानीय रोजगारी सिर्जना, वनजन्य स्रोतको दिगो उपयोग तथा सामुदायिक वनको आर्थिक सुदृढीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माको भनाई छ । यसवाट तर्फ सामुदायिक वनले ऐतिहासिक कदम चालेको उनले वताए ।













































