एक घर एक धारा अभियान
बिदुर – नुवाकोटको तारकेश्वरमा एक घर एक धारा अभियान सन्चालन गरिएको छ । जसअन्र्तगत सन्चालित खानेपानी योजनाको निर्माण सम्पन्न भएको छ । तारकेश्वर गाउंपालिकाको चौतारागाउँ, सातदोबाटो, धैरिनी र आँपचौरमा ’एक घर एक धारा’ सञ्चालनमा आएको छ ।

बाँकी गाउँमा तीव्र गतिमा धारा निर्माण गर्न यस वर्षका लागि कुल एक करोड २ लाख रुपैया बजेट विनियोजन गरिएको छ । तारकेश्वरको महत्व र गौरवको आयोजनाको रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा ’एक घर एक धारा’ निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले केही घरहरूमा उचाइका कारण पानी चढ्न नसकेको जानकारी आएकाले ती घरहरूका लागि वैकल्पिक उपायको खोजी गरी पानी सञ्चालन हुने व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

लामो समयदेखि खानेपानीको चरम अभावबाट गुज्रिएको तारकेशवर २ र ३ का ६ सय ५० भन्दा बढी घरधुरीलाई कार्यकालभित्रै पानी खुवाउने संकल्प गरेका गापा अध्यक्ष अधिकारीले आफू अध्यक्ष भएको केहि महिनाभित्रै जोरघट्ट मुहानबाट पानी ल्याएर पुरानै ट्याङ्की र पाइपलाइनको संरचनाबाट घरघरमा पानी वितरण गरेका थिए । तत्पश्चात्, आयोजनाको दोस्रो चरणका रुपमा नयाँ पाइपलाइनहरूको निर्माण र एक घर एक धारा निर्माण कार्य अगाडि बढाइएको थियो ।

हाल तारकेशवर ३ को चन्दनीस्थित वितरण ट्याङ्कीबाट तारकेश्वर २ को आरुबोटेसम्म नयाँ पाइपलाइनको निर्माण भइसकेको छ । बहुवर्षीय आयोजनाका रूपमा क्रमिक रुपमा नयाँ पाइपलाइन निर्माण र एक घर एक धारा निर्माणको काम अघि बढिरहेको गापाले जनाएको छ ।

गापा अध्यक्ष अधिकारीले गाउँपालिकाले प्रदेश सरकारसँग माग गर्ने विशेष अनुदान अन्तर्गत आगामी आर्थिक वर्षका लागि कुल एक करोड २ लाख बजेट विनियोजन भइसकेको जानकारी दिए । बाँकी रहेका गाउँहरूमा एक घर एक धारा निर्माणको कार्यक्रम तीव्र रुपमा अघि बढ्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।
















































