महिला किसानलाई कृषि सामग्री
बिदुर – उद्यम विकासमा जोड दिदै नुवाकोटको तादी गाउँपालिकामा महिला समूहमा आवद्ध किसानहरुलाई कृषि सामग्री प्रदान गरिएको छ । यसवाट महिलाहरु कृषि उद्यममा लाग्न उत्प्रेरित भएका छन् । तादी गापाको उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत व्यवसायिक तरकारी खेती गर्नका लागि महिला उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको हो ।

२५ जना महिलाहरुलाई टनेल तथा स्प्रेयर पम्प प्रदान गरिएको हो । कटुन्जेमा आयोजित कार्यक्रममा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठले कार्यक्रम मार्फत व्यवसायिक तरकारी खेतीमा संलग्न उद्यमीहरूलाई आवश्यक कृषि प्रविधि, सीप हस्तान्तरण गरिन् । उनले यस कृषि प्रविधिमार्फत महिला उद्यमीहरूको उत्पादन क्षमता वृद्धि, आयआर्जनमा टेवा पु¥याउने तथा स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

उपाध्यक्ष सन्जु प्याकुरेलले उद्यमशीलताको विकास, कृषि उत्पादनमा वृद्धि तथा स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले सिकेका प्रविधिलाई व्यवहारमा उतार्दै व्यवसायिक तरकारी खेतीमार्फत आत्मनिर्भर बन्न उद्यमीहरूलाई आग्रह गरिन् ।

कृषि उपकरण प्राप्त गरेपछि तादी गापा ५ र ६ का कृषक महिलाहरुलाई व्यवसायिक तरकारी खेतीका लागि सुविधा पुगेको छ । कार्यक्रममार्फत उद्यमीहरूको उत्पादन क्षमता अभिवृद्धि, आयआर्जनमा वृद्धि तथा स्थानीय स्तरमा उद्यमशीलताको प्रवद्र्धन हुने अपेक्षा गरिएको तादी गापाले जनाएको छ ।














































