सडकमै गाडीहरुको यान्त्रिक जांच
बिदुर – सडकमार्गमा सन्चालन हुने विभिन्न गाडीहरुको नुवाकोटमा यान्त्रिक परिक्षण अभियान सन्चालन गरिएको छ । सवारी साधनको प्राविधिक अवस्था, समयमै मर्मतसम्भार तथा प्राविधिक परिक्षण नहुँदा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा यान्त्रिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको सक्रियतामा यान्त्रिक कार्यालय नुवाकोटका प्राविधिकसहितको टोलीले त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–त्रिशूली सडकमार्गको वीचमा रहेको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सार्वजनिक सवारी साधनहरूको प्राविधिक परीक्षण गरिएको हो । चेकजाँचका क्रममा सात थान बस, १० थान ट्रिपर, ७ थान जिप, ४ थान अटो, १० थान ट्रक र ४ थान विद्युतीय सवारी (ईभी) गरी कुल ४२ थान सवारी साधनको यान्त्रिक अवस्था परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

अभियानले सवारी साधनको प्राविधिक अवस्था सुधार गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्न तथा चालक र यात्रुको सुरक्षामा थप टेवा पुग्ने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।















































