अन्जु पन्तकी छोरी चलचित्रमा

– गायक पशुपति शर्मासमेत डेव्युतर्फ
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण १, शुक्रबार २३:५९

बिदुर – पूर्ण मनोरञ्जनात्मक हास्य जनरामा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । यस चलचित्रमा चर्चित गायिक अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनय रहनेछ । हाँस्यव्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको चलचित्रमा चर्चित हास्य कलाकारहरुको जमघट रहनेछ ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएसंगै केहि दिनमै छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । विशेष कार्यक्रममा यस चलचित्रको घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्माता रघुनाथ सापकोटाले यस चलचित्रले नेपली समाजको अवस्थाको चित्रण गर्ने वताए ।

उनले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य प्रोजेक्टहरू पनि यस चलचित्रपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने वताए । यस चलचित्रका गीत सफल तथा चर्चित गायक पशुपति शर्माले तयार गरेकाछन् भने छायाङ्कन संकल भुजेलले सम्हाल्नेछन् । निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामाको श्रृंगार र जीवन पोखरेल भेषभुषाको जिम्मेवारी सम्हाल्नेछन् ।

चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, उत्तम केसी, सुनील कटुवाल, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, वेगम नेपाली, बिरबल घले, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना, राजु तिमल्सिनालगायतका कलाकारहरूको अभिनय रहनेछ । आरआर फिम्सले वितरणको जिम्मेवारी लिएको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, गायक पशुपति शर्मा र कमेडियन प्रभात लामालाई डेब्यू गराउदै निर्माण गर्न लागिएको चलचित्र “तीन तिघ्रे क्या बिग्रे“को रघुनाथ सापकोटा र निरज नेपालले निर्माण गर्नेछन् ।


सर्वाधिक रुचाइएको