रास्वपाको टोलीद्वारा मल गोदामको अनुगमन

– किसानको माग अनुसार आपुर्ति वढाउन माग
लोकखबर
२०८३ श्रावण २, शनिबार ००:०४

बिदुर – आवस्यक अनुसार रासायनिक मल आपुर्ति गरिनु पर्ने मागसहित रास्वपाद्वारा नुवाकोटमा रासायनिक मल गोदामको अनुगमन गरेको छ । किसानको माग अनुसार आपुर्ति प्रणाली सुधार गर्नुपर्ने माग गरिएको छ । मलको कोटा वृद्धि गर्न माग गर्दै टोलीले मलको गोदाम अनुगमन गरेके हो ।

रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, त्रिशूली शाखा कार्यालय तथा मल गोदामको अनुगमन गरेको हो । टोलीले रासायनिक मलको आपूर्ति तथा वितरण प्रणालीबारे जानकारी लिदै कोटा वढाउनु पर्ने माग गरेको छ । कार्यालय र गोदाममा पुगेको टोलीले शाखा प्रमुख विज्ञान भट्टराईसँग रासायनिक मलको उपलब्धता, वितरण प्रक्रिया तथा किसानको मागको अवस्थाबारे जानकारी लिएको हो ।

टोलीले मल गोदामको अनुगमनसमेत गर्दै वितरण प्रणालीको अवस्थाको निरीक्षण गरेको छ । अनुगमनका क्रममा १२ स्थानीय तह रहेको नुवाकोटमा रासायनिक मलको माग उपलब्ध कोटाभन्दा झण्डै तीन गुणा बढी रहेकाले आपूर्तिमा चुनौती रहेको कार्यालयले जनाएको छ । यद्यपि हाल सञ्चालन भइरहेको वितरण प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी वनाउनु पर्ने टोलीले जनाएको छ ।

अनुगमनपछि सभापति रामेश्वर गजुरेलले रासायनिक मलको कोटा प्रदेशस्तरबाट निर्धारण भई त्यसपछि जिल्ला तथा पालिकामा बाँडफाँट हुने व्यवस्था रहेकाले नुवाकोटका किसानको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै जिल्लाको मल कोटा वृद्धि गर्न सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अनुगमन टोलीमा सभापति गजुरेलसहित उपसभापति कृष्णलाल श्रेष्ठ, जिल्ला सदस्य लक्ष्मी पाण्डे तथा नुवाकोट २ का प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेको सचिवालयका तर्फबाट जितेन्द्र अर्याललगायत जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको