चन्दावाट गाउंको विद्यालयमा बस खरिद
बिदुर – सामूहिक अभियानवाट नुवाकोटको थानापतिस्थित एक विद्यालयमा बस खरिद गरिएको छ । चन्दा संकलन गरि खरिद गरिएको बस विद्यालयमा आएको छ ।शिवपुरी गाउंपालिका ८ थानापतिस्थित जनज्ञान निकेतन माविले चन्दा संकलन अभियान सन्चालन गरि बस खरिद गरेको हो ।

वस अभियानका संयोजक तथा विद्यालयका पुर्व अध्यक्ष हरि सिटौलाले ४९ लाख तीनहजार रुपैयामा विद्यालदय बस खरिद गरिएको र बसलाई ८६ हजार ७ सय ८७ रुपैयाको वीमा गरिएको वताए । बांकी रकमवाट विद्यालयको भौतिक संरचना निर्माण गरिने सिटौलाले वताए । जसअन्र्तगत छात्रा शौचालय, क्यान्टिन र कार्यक्रम स्टेज निर्माणमा खर्च गरिने छ ।

स्रोत–साधनको अभावलाई बहाना नबनाई सामुदायिक विद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउने लक्ष्यसहित अघि बढेको सो विद्यालयले आफ्नै नाममा विद्यालय बस खरिद गरेर एउटा नयाँ उदाहरण प्रस्तुत गरेको हो । विद्यालय बसका लागि सहयोगी दाता, पुर्व विद्यार्र्थी, बिभिन्न संघ संस्था, विदेशी व्यक्तिहरु, शिवपुरी गाउपालिकालगायतले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले जानकारी दिए । गत वर्षदेखि विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तथा अभियानका संयोजक हरि सिटौला र प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेको नेतृत्वमा सन्चालन भएको अभियानमा पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी, स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक र विभिन्न संघसंस्थाको साथले विद्यालयले बस खरिद गरेको हो ।

विद्यालय बस खरिद हुनु एउटा सवारी साधन थपिनु मात्र होइन, यो सामुदायिक विद्यालयप्रतिको विश्वास, अपनत्व र सामूहिक एकताको प्रतीक बनेको प्रधानाध्यापक लामिछानेको भनाई छ । पछिल्ला वर्षहरूमा विभिन्न कारणले विद्यार्थीहरू शहर केन्द्रीत हुँदै जाँदा अधिकांश सामुदायिक विद्यालय विद्यार्थी अभावको चुनौतीसँग जुधिरहेका छन् । यस परिस्थितिमा विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँच उपलब्ध गराउन र विद्यार्थी टिकाउन, नयाँ विद्यार्थी आकर्षित गर्ने प्रभावकारी माध्यमको रुपमा बसको व्यवस्था गरिएको हो ।

हाल सो विद्यालयमा ४ सय ५० भन्दा वढि विद्यार्थी अध्ययनरत छन् । शिवपुरी गाउँपालिकाभित्र उत्कृष्ट शैक्षिक नतिजा दिने विद्यालयमध्ये जनज्ञान निकेतन अग्रस्थानमा रहँदै आएको छ । विद्यालयमा बस सञ्चालनमा आएपछि वरपरका बस्तीका विद्यार्थीलाई पनि सहज रूपमा विद्यालय ल्याउन सकिने भएकाले आगामी दिनमा विद्यार्थी संख्या अझै बढ्ने विश्वास विद्यालयको छ ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरि सिटौलाका अनुसार बस खरिदसँगै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि करिब ९९ लाख रुपैयाँ संकलन गरिएको छ । यसमध्ये एक गैरसरकारी संस्थाले ४२ लाख रुपैयाँ, शिवपुरी गाउँपालिकाले १२ लाख रुपैयाँ, अमेरिकामा रहेका नेपाली समुदायले १९ लाख रुपैयाँ, नेपालभित्रका सहयोगीहरूले २० लाख रुपैयाँ तथा रोटरी क्लबले ५ लाख ४ हजार रुपैयाँ सहयोग गरेका हुन् । संकलित रकममध्ये बस खरिद गरेर बाँकी रकमबाट विद्यालय क्यान्टिन, कार्यक्रम सञ्चालनका लागि स्टेज र छात्रा शौचालय निर्माण गरिनेछ ।

ति संरचना निर्माण सम्पन्न भएपछि बाँकी रहने रकमलाई कोषका रूपमा स्थापना गरी त्यसको ब्याजबाट बस सञ्चालनमा आर्थिक सहयोग पु¥याउने दीर्घकालीन योजना विद्यालयले बनाएको छ । यसअघि विद्यालयले भाडाको बस प्रयोग गर्दै आएकोमा अब आफ्नै बस सञ्चालनमा आएपछि त्यो बाध्यता अन्त्य भएको छ ।

गाउं र टाढाबाट आउने विद्यार्थीको यात्रा सुरक्षित, सहज र नियमित हुने अपेक्षा गरिएको छ । यसले अभिभावकको विश्वास बढाउने मात्र होइन, गुणस्तरीय शिक्षा खोज्दै निजी विद्यालयतर्फ जाने प्रवृत्तिलाई समेत केही हदसम्म रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।



















































