करेण्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपुर्ति

– आश्रित परिवारलाई रोजगारी
लोकखबर
२०८३ श्रावण ७, बिहीबार १५:२३

बिदुर  – नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वरमा खेतमा करेण्ट लागेर ज्यान गुमाएका एक जना किसानको परिवारलाई सम्वन्धित निकायले क्षतिपुर्ति दिने भएको छ । आश्रित परिवारका व्यक्तिलाई रोजगारी दिने भएको छ । सदरमुकाम बिदुरदेखि ४० किलोमिटर दुरीमा रहेको दुप्चेश्वर गाउंपालिका –३ गहतारमा करेन्ट लागेर खेतमा काम गरिरहेका किसान ४० वर्षिय कुमार विकको मृत्यु भएकोमा नेपाल विद्युत प्राधिकरणले उनका परिवारलाई १० लाख रुपैया क्षतिपुर्ति र परिवारका दुई जनालाई उचित रोजगारी दिने निणृय भएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए ।

उनका अनुसार तुरुन्त विद्युतीय पोल र तार व्यवस्थापनको कार्य सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ । घटनास्थलमा परिवारजन, स्थानीयवासी, गापा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विद्युत प्राधिकरणका कर्मचारीहरुवचि भएको सहमतिमा विद्युत् करेन्टबाट ज्यान गुमाएका कुमार बिकको परिवारलाई क्षतिपूर्ति, शिक्षा र रोजगारीको व्यवस्था गर्ने सहमति भएको अध्यक्ष थापाले जानकारी दिए । सहमति नभएसम्म ११ हजार केभिए क्षमताको विद्युत पोल र तारको उचित व्यवस्थापन नहुंदा उक्त घटना घटेको जनाउंदै स्थानीयवासी, आफन्तन तथा पीडित परिवारजनले विद्युत् प्राधिकरणको लापरबाही तथा मापदण्डविपरीत व्यवस्थापन भएको भन्दै सहमति वेगर शव नै नउठाउने वताएका थिए ।

विद्युत् प्राधिकरण र पीडित पक्षबीच मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मृतकका बालबालिकाको उच्च शिक्षासम्म अध्ययनमा सहयोग तथा परिवारका दुई सदस्यलाई दक्षता र क्षमताको आधारमा रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएछि शव घटनास्थलवाट उठाएर पोष्टमार्टम गरि अन्तिम सस्कारसमेत गरिएको उनले वताए । पीडित परिवारले उक्त सहमतिले न्यायको अनुभूति गराएको जनाउँदै आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन विद्युत् संरचनाको नियमित अनुगमन र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।


सर्वाधिक रुचाइएको