व्युटिसियनहरुको भेला
बिदुर – नेपाल ब्युटिसियन श्रमिक संघ नुवाकोटले भेला सम्पन्न भएको छ । भेलाले सुजना दुलालको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । ‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नारासहित आयोजित भेलाले नुवाकोटका सौन्दर्यकर्मीलाई एउटै छातामुनि संगठित गर्दै ब्युटिसियन व्यवसायमा आबद्ध श्रमिकहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा अधिकार संरक्षणका विषयमा अन्र्तक्रिया गर्दै नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा सरिता पाण्डे र सुजना तामाङ, सचिवमा शर्मिला कुमाल, सहसचिवमा चन्द्रा तामाङ र कोषाध्यक्षमा सरस्वती अधिकारीलाई चयन गरेको छ । सदस्यहरुमा चन्द्रा तामाङ, सविना गुरुङ, लक्ष्मी उप्रेती, अनीता विक र संगीता लामिछाने चयन भएका छन् । बाँकी सात सदस्यहरु पहिलो वैठकले मनोनयनमार्फत चयन गरिने जनाइएको छ । कार्यक्रममा सहभागीहरूले ब्युटिसियन पेशालाई मर्यादित, व्यवस्थित र व्यवसायिक बनाउन सौन्दर्यकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले सिपमूलक व्यवसायलाई आत्मनिर्भरताको आधारका रूपमा स्थापित गर्दै श्रमिकहरूको अधिकार, सामाजिक सुरक्षा र पेशागत संरक्षणका लागि संघले सक्रिय भूमिका जनाउने विश्वास व्यक्त गरेका छन् । उक्त कार्यसमितिले जिल्लाभरका सौन्दर्यकर्मीलाई संगठित गर्दै उनीहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संरक्षणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
















































