विद्यालयलाई फर्निचर हस्तान्तरण

– डिजिटल शैक्षिक सामग्री प्रदान
लोकखवर शिक्षा संवाददाता
२०८३ श्रावण १६, शनिबार ००:३२

बिदुर – शिक्षा क्षेत्रमा सुधार गर्ने उद्धेश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले विद्यालयहरुलाई फर्निचर हस्तान्तरण गरेको छ । डिजिटल शैक्षिक सामग्रीसमेत उपलव्ध गराइएको छ । दुप्चेश्वर गाउ कार्यपालिकाको निर्णय सहित प्रस्ताव गरिएको गत आर्थिक वर्ष २०८२/०८३ को संघ विशेष अनुदान रकमबाट दुप्चेश्वर गापा भरिका विद्यालयहरुमा फर्निचर तथा डिजिटल शैक्षिक सामग्री प्रदान गरिएको हो ।

पालिकाको कार्यालय समुन्द्रटारमा शुक्रवार आयोजित कार्यक्रममा विद्यालयलाई गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीलगायत सरोकारवालाले फर्निचर तथा शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । विद्यालयहरुमा फर्निचर तथा शैक्षिक सामग्री व्यवस्थापनको लागि कुल. एक करोड ६५ लाख रुपैया बराबरको खरिद गरिएको सामग्रीहरु सबै विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका अध्यक्षहरुलाई औपचारिक कार्यक्रम सहित हस्तान्तरण गरिएको हो । यसवाट पठनपाठनमा सहजता भएको विद्यालयले जनाएको छ ।

विज्ञान र प्रविधिको नयाँ युगमा शैक्षिक कृयाकलाप तथा पठनपाठनमा सहजता र सहजताका लागि शैक्षिक गुणस्तरमा सुधार गरि विद्यार्थीहरुमा थप उर्जा र हौसलासमेत प्र्राप्त हुने र भविष्यमा असल कुशल नागरिक र दक्ष जनशक्ति उत्पादनमा समेत अहम भूमिका रहने दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । उनका अनुसार चालु आवमा पनि एक करोड ८० लाख रुपैयाको सामग्री खरिद तथा वितरणको लागि बजेट सुनिश्चित गरिएको छ ।

अपुग सामग्रीहरु क्रमशः प्राथमिकताको आधारमा उपलव्ध गराउंदै लगिने गापाले जनाएको छ । यसबाट विद्यालय, शिक्षक, विद्यार्थी लाभान्वित हुने जनाइएको छ ।


सर्वाधिक रुचाइएको