बस खरिदका लागि आर्थिक सहयोग
बिदुर – नुवाकोटको थानापतिस्थित सामुदायिक विद्यालयको लागि बस खरिदका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शिवपुरी गाउंपालिका ८ स्थित जनज्ञान निकेतन माविको लागि पुर्वाघार बिकास तथा विद्यालय बस खरिद अभियानमा रोटरी क्लव अफ काठमाडौ नर्थ इष्टले आर्थिक सहयोग गरेको छ । सो क्लवले कुल पाँच लाख चार हजार रुपैयाँ विद्यालयको खातामा चेक मार्फत जम्मा गरिसकेको विद्यालयले जनाएको छ ।

विद्यालयमा शनिवार आयोजित कार्यक्रममा उक्त महत्वपूर्ण सहयोग जुटाउन विशेष भूमिका खेलेका जनज्ञान निकेतन माविका पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष भरतप्रसाद पाठकलगायतलाई विद्यालयले आभारसहित सम्मान गरेको छ । दाताहरूको विश्वास, सद्भाव, उदार सहयोग र शिक्षाप्रतिको प्रतिबद्धताले विद्यालयले बस खरिद गरेर सन्चालन गर्न सफल भएको बस खरिद अभियानका संयोजक हरि सिटौलाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका सिटौला तथा पूर्व विद्यार्थीहरूको विशेष पहल एवं जनज्ञान माविलाई मन, वचन र कर्मले माया गर्नुहुने सम्पूर्ण महान दानवीर दाताहरूको सहयोगमा वस खरिद गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले वताए । आफ्नै बस खरिद गरि औपचारिक रूपमा विद्यार्थीहरूको लागि सेवा सञ्चालन गर्नुपूर्व बिदुर नपा ५ देवीघाटस्थित प्रसिद्ध शक्तिपीठ जालपादेवी मन्दिरमा पूजाआजासहित वस सन्चालन गरिएको प्रअ लामिछानेले वताए । विद्यालयमा वस खरिद गरेर ल्याएपछि विद्यार्थी तथा अभिभावकहरु खुसी भएका छन् ।














































