गाउंघर क्लिनिक तथा अपांगता लक्ष्यित कार्यक्रम
बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको विदुर नगरपालिकाको विभिन्न स्थानमा गाउंघर क्लिनिक तथा अपांगत लक्ष्यित कार्यक्रम सन्चालन गरिएको छ । अस्पताल जान नसकेकाहरुको गाउंघरमै स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य शाखा अन्तर्गत शहरी स्वास्थ्य केन्द्र बिदुर –६ बाट मान्द्रेढुङ्गा, मुलथलामा संचालन गरिएको गाउँघर क्लिनिकमा महिला २९ जनासहित ४१ जनाको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

बिदुर नपाका स्वास्थ्यकर्मीहरु पुगेर स्वास्थ्य परिक्षण गरेका थिए । उता, बिदुर नगरपालिका ८ अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका लक्ष्यित स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई पायक पर्ने स्थान वा घर–घरमा पुगेर जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरूको स्वास्थ्य अवस्था परिक्षण गरिएको हो ।

रक्तचाप, मधुमेह, ज्वरो, स्वासप्रश्वास, दीर्घरोग तथा अन्य स्वास्थ्य समस्याको परिक्षण गरी परामर्शसहित आवश्यक औषधि वितरण गरिएको छ । नियमित औषधि सेवन गरिरहेका बिरामीलाई औषधि नियमित रूपमा सेवन गर्न, सन्तुलित आहार, व्यक्तिगत सरसफाई, नियमित व्यायाम तथा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य शिक्षा प्रदान गरिएको स्वास्थ्यकर्मीले वताएका छन् । उपचारका लागि अन्यत्र जान असमर्थ भएका विरामीलाई उनीहरूको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएकाले स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै सेवाग्राही तथा परिवारजन समेत लाभान्वित भएका छन् ।

जसमा महिला २१ ज्नासहित कुल ४८ जना विरामीले सो स्थानमा स्वास्थ्यलाभ लिएका छन् । यस्तै, बिदुर नपा ८ केउरेनीमा २५ महिलासहित ४० जना वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सम्बन्धि विभिन्न परामर्श र सुझाव दिने कार्य गरिएको छ । कार्यक्रममा सम्भावित मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूलाई थप उपचार तथा व्यवस्थापनका लागि त्रिशूली अस्पतालमा प्रेषण गरिएको स्थानीयवासी तथा बडासदस्य श्रीकृष्ण रिजालको भनाई छ ।

उनका अनुसार यस प्रकारको गाउँघर क्लिनिकमार्फत स्थानीयवासीले प्राथमिक स्वास्थ्य सेवा आफ्नै टोल–छिमेकमा सहज र छरितो रूपमा प्राप्त गरेका छन् । यसलाई निरन्तरता दिइने स्वास्थ्य शाखाले जनाएको छ ।


















































