निर्माता थापाको नयाँगीत ‘दिक्क लाईसक्यो’बजारमा
बिदुर –“मेरो हिरो बनाउँछन् फिलिम
कुनदिन घरखेत बनाउँछन् चिलिम
जहिले हुन्छन् केको सुटिंङमा
हाजिर हुन्नन् घरको चाँहि मिटिंगमा
दिक्क लाईसक्यो मलाई दिक्क लाईसक्यो
हाँसु कि रोऊँ म दिक्क लाईसक्यो”
चर्चित चलचित्र बुलबुल र भूठानका निर्माता प्रल्हाद (अविरल) थापाले महत्वपुर्ण पर्व तीजलाई लक्ष्यित गर्दै नयाँगीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन् । चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु, अर्की पाशर््व गायिका बेनिशा पौडेल र नवगायिका सुनीता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले दिएका हुन् । गीतको रचना भने निर्माता थापाको रहेको छ । सो गीतको म्युजिक भिडियोलाई हाल छायांकनमा रहेको चलचित्र जुबाकी लेखक वर्षा पौडेलले निर्देशन गरेकी हुन् ।
यस गीतको भिडियोमा संभवत नेपालमा पहिलोपटक एज रिभर्सड कास्टिङ शैलीलाई अवलम्बन गरिएको छ । जस अन्तर्गत वयष्क महिलाहरुको भूमिकामा बालिकाहरुलाई अभिनय गराउँदै नचाईएको छ । उनीहरुले उत्कृष्ट प्रस्तुती दिएका छन् । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाहरुले नाचेका छन् भने रोहिया महर्जनले कोरियोग्राफी गरेकी छिन् ।

अन्य धेरै गीत लेखिसकेका गीतकार थापाले विगतमा चलचित्र साँघुरोको लागि पनि गीत लेखेका थिए । ठक्कर बोलको गीत गतवर्ष कान्तिपुर म्युजिक अर्वाडको उत्कृष्ट पाँचमा परेको थियो । बजारमा आएको नयाँ गीतमा उनले विभिन्न पेशामा आवद्द पतिहरुका पत्नीहरुले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा शव्दको बान्की भरेका छन् । उनले जग्गाको कारोवार गर्ने, डाक्टरी गर्ने, पत्रकारिता गर्ने, पसल गर्ने, वैदेशिक रोजगारी गर्ने, समय नदिने, गफ धेरे दिने, भनेको नमान्ने, शेयर कारोवार गर्ने, फिल्म बनाउने, सरकारी जागिरेलगायत पतिको विवशता, हालत र त्यसले पत्नीको मनोदशामा पारेको प्रभावलाई रमाईलो पारामा प्रस्तुत गरेका छन् ।
“मेरो बूढो जग्गाको दलाल
नबिकेर छ भन्छन् बेहाल
जतिखेरै झुन्डिन्छन् फोनमा
सन्तोक छैन कहिले निमनमा
दिक्क लाईसक्यो”
पत्रकारितामा लागेर तलब पाउन मुस्किल झेलिरहेका पत्रकारको कथा र त्यस विषयले उनकी पत्नीको मनोदशालाई पनि गीतकार थापाले रमाईलो पारामा उल्लेख गरेका छन् ।
“मेरो बूढो देश धान्ने पत्रकार
आफ्नै घरको थाहाछैन समाचार
पैसा माग्दा तलबनै पाछैन
फूर्ति लाउने बानीचाँहि गाछैन”
त्यस्तै वैदेशिक रोजगारमा गएका पतिको सम्वन्धमा उनकी पत्नी भन्छिन्
“मेरो खसम वैदेशिक रोजगारमा
बिहान बेल्का झुल्किन्छन् अनलाईनमा
वैंश गयो आउने दिन कुरेर
पराईले हेर्छन नि घुरेर
दिक्क लाईसक्यो मलाई दिक्क लाईसक्यो”

निर्माता तथां गीतकार थापाले बजारमा आईरहेका एकैखाले गीत र पुरानै गन्थनमन्थन र रोदनका गीतभन्दा बदलिदो समय र परिवेशमा आधुनिक नारीहरुका नयाँ कथा, समस्या, हालत र मनोदशा झल्काउने नयाँ शैलीमा गीत बुन्दै रमाईलो र नाच्ने गीत ल्याएको वताएका छन् । यो गीत देवाश्री फिल्म्स च्यानलमा उपलब्ध छ । निर्माता थापा नयाँ चलचित्रको पनि तयारी गर्दैछन् । त्यसका लागि नायक नायिका तथा कलाकारहरुको छनौट केहि समयमा गरिने उनले वताए ।











































