विद्यालय बसको यान्त्रिक परिक्षण
बिदुर – नुवाकोटमा विद्यार्थी वोक्न प्रयोग गरिएका विद्यालयका बसको यान्त्रिक र त्यसका चालकको स्वास्थ्य परीक्षण गरिएको छ । सवारी साधनमा आउने खराबी तथा चालकको स्वास्थ्य अवस्थाका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न विद्यालय बस र त्यसका चालकको परिक्षण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालय नुवाकोट र त्रिशूली अस्पतालको संयुक्त सहकार्यमा विदुर नगरपालिका–४ बट्टारस्थित बसपार्कमा विद्यालयका सवारी साधन बसको यान्त्रिक तथा चालकहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

विभिन्न विद्यालयसँग समन्वय गरी विद्यालयका बस तथा भ्यान र अन्य सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण पनि गरिएको ट्रापिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटका सामुदायिक तथा संस्थागत विद्यालयका ३० भन्दा बढी बस तथा चालक सहभागी कार्यक्रममा बसको पाटपुर्जा तथा यान्त्रिक अवस्थाको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए । विद्यालय बसका स्वास्थ्य परीक्षणअन्तर्गत चालकहरूको रक्तचाप, मधुमेह तथा दृष्टि परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा केही चालकमा उच्च रक्तचाप तथा मधुमेह देखिए पनि दृष्टि परीक्षणमा भने सबैको अवस्था सामान्य रहेको पाइएको छ । चालकहरूको स्वास्थ्य परीक्षण त्रिशूली अस्पताल नुवाकोटका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । विद्यालयका बसको पाटपुर्जा तथा यान्त्रिक अवस्था परीक्षण यान्त्रिक कार्यालय, नुवाकोटका सिनियर मेकानिक्ससहितको प्राविधिक टोलीले गरेको थियो । प्रहरी निरीक्षक विनोद ढकालका अनुसार विद्यालयमा सञ्चालन हुने सवारीसाधनलाई सुरक्षित र दुर्घटनारहित बनाउन नियमित रूपमा यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए ।

विद्यार्थीको सुरक्षित यात्रा सुनिश्चित गर्न सवारीसाधनको प्राविधिक अवस्था र चालकको स्वास्थ्य दुवैलाई प्राथमिकता दिँदै यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले प्रहरी कर्मचारीका लागि ‘आचरण व्यवहार’ सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सन्चालन गरेको छ । प्रहरी निरीक्षक विनोद ढकालको नेतृत्वमा कार्यालय तथा मातहतका ट्राफिक प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार तथा प्रहरीको आचरणसम्बन्धी अनुशिक्षण दिइएको हो ।

भौतिक रूपमा उपस्थित हुन नसकेका मातहतका प्रहरी कर्मचारीलाई भर्चुअल माध्यमबाट समेत सहभागी गराइएको कार्यक्रममा सेवाग्राहीमैत्री व्यवहार प्रदर्शन गर्दै जिम्मेवारीलाई तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सवारी साधनको नियमित परीक्षणसँगै चालकको स्वास्थ्य अवस्था र प्रहरी कर्मचारीको सेवाग्राहीसँगको व्यवहारमा सुधार ल्याउने यस्ता कार्यक्रमले सडक सुरक्षा र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्लामा सन्चालित विद्यालयका बस तथा चालक सहभागी कार्यक्रममा दुर्घटना न्यूनीकरण र विद्यार्थीको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो ।


















































