सात दिनमा १० चलचित्र

– ‘ओल्ड इज गोल्ड’ नारासहित पुराना चलचित्र प्रदर्शन
लोकखवर मनोरन्जन संवाददाता
२०८३ श्रावण २८, बिहीबार ००:३९

बिदुर – ऐतिहासिक नेपाली पुराना चलचित्रहरुको प्रदर्शन श्रृंखला ‘ओल्ड इज गोल्ड’ बुधबार सम्पन्न भएको छ । सात दिनसम्म चलेको शृंखलामा नेपाली चलचित्र इतिहासका विभिन्न कालखण्ड प्रतिनिधित्व गर्ने दस चलचित्र ठूलो पर्दामा प्रदर्शन गरिएका थिए । चलचित्र विकास बोर्डद्वारा आयोजित पुराना चलचित्रहरुको उक्त प्रदर्शन ‘जीवनरेखा’को प्रदर्शनसँगै समापन भएको हो ।

सात दिनमा दस ऐतिहासिक पुराना नेपाली चलचित्रहरु ‘ओल्ड इज गोल्ड’ नारासहित विशेष प्रदर्शनी गरिएको हो । सुरुमा पुरानो नेपाली सिनेमाका दर्शक अझै पनि छन् र? भन्ने प्रश्न थियो । सवैले भनेका थिए वर्षौंअघि बनेका नेपाली चलचित्र फेरि ठूलो पर्दामा फर्काउँदा दर्शक आउलान् त? यद्यपि, सात दिनपछि त्यसको जवाफ कुनै भाषण वा घोषणाले होइन, चलचित्रका लागिm भरिएका हल र दर्शकको निरन्तर उपस्थितिले मजवुत रुपमा दिएको छ । अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिएका थिए ।

दुवै चलचित्र अवलोनका लागि दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ‘जीवनरेखा’को प्रदर्शनसँगै सात दिनदेखि चलिरहेको नेपाली चलचित्र इतिहासको विशेष यात्रा औपचारिक रूपमा टुंगिएको हो । समापन कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, सकुन्तला शर्मा, टीका पहारी, सुष्मा शाही, निर्देशक लक्ष्मीनाथ शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रभा ढकाललगायत विशिष्ट चलचित्रकर्मीको सहभागिता रहेको थियो । समापनको एउटा विशेष र आकर्षक दृश्य भने पुरानो पुस्ताका चलचित्रकर्मीले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशिर्वाद दिएको क्षण बन्यो ।

समापन कार्यक्रममा चलचित्र ‘गौँथली’का मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का, निर्देशक डा. कपिल रिजाल तथा निर्माता सुमन गिरीलगायत चलचित्रकर्मीको सहभागिता रहेको थियो । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा. कपिल रिजाललाई र वरिष्ठ कलाकार टीका पहारीले निर्माता सुमन गिरीलाई, बरिष्ठ कलाकार सन्तोष पन्तले वितरक करण क्रेजिलाई खादा लगाएर शुभकामना र आशिर्वाद दिएका थिए ।

सात दिनसम्म पर्दामा नेपाली चलचित्रको इतिहास देखाइएको कार्यक्रमको अन्तिम क्षणमा त्यही इतिहास निर्माण गरेका अग्रजहरूले आजको पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर शुभकामना र आशीर्वाद दिनुले समापनलाई अझ अर्थपूर्ण बनाएको आयोजक चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले वताए । एकातिर पर्दामा ‘जीवनरेखा’ चलिरहेको थियो, अर्कोतिर नेपाली चलचित्रको पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो अनुभव, सद्भाव र आशीर्वाद हस्तान्तरण गरिरहेका थिए । ‘ओल्ड इज गोल्ड’ अन्तर्गत सात दिनमा ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिएका हुन् ।

कार्यक्रममा बोर्डका अध्यक्ष डिसीले कलाकारहरूसँग तत्कालीन समयको चलचित्र निर्माण, अभिनय र नेपाली सिनेमाको यात्राबारे संवाद तथा सहजीकरण गरेका थिए ।पहिलो दिनदेखि नै दर्शकको चाप उल्लेख्य रहेकोमा कतिपय दर्शकले सिट भरिएका कारण उभिएरै चलचित्र हेर्नुपरेको थियो । त्यो उत्साह सात दिनसम्मनै कायम रह्यो ।
दोस्रो दिन प्रदर्शन गरिएका ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल भए । तेस्रो दिन ‘के घर के डेरा’ र ‘मनको बाँध’मा पनि हाउसफुल हुने वातावरण कायम रह्यो भने त्यसपछिका प्रदर्शनमा समेत दर्शकको उत्साह निरन्तर देखिए ।

सबै चलचित्रका शो हाउसफुल रहे । सात दिनसम्मको दर्शक सहभागिता नै कार्यक्रमको सबैभन्दा बलियो पक्ष बन्यो । ‘ओल्ड इज गोल्ड’को विशेषता केवल पुराना चलचित्रको प्रदर्शन मात्रै थिएन । ती चलचित्रसँग प्रत्यक्ष रूपमा जोडिएका कलाकार, निर्देशक तथा चलचित्रकर्मी स्वयं हलमा पुगेर दर्शकसँगै आफ्ना पुराना सिर्जना हेरे ।
कार्यक्रममा भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल, शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टीका पहारी, सुष्मा शाही, शर्मिला मल्ल, पुरन जोशी, लक्ष्मीनाथ शर्मा र प्रभा ढकाललगायत वरिष्ठ तथा विशिष्ट चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

कलाकारहरूले चलचित्र निर्माणका तत्कालीन अनुभव र स्मृति दर्शकसँग बाँडे । पर्दामा उनीहरूका दशकौँअघिका चलचित्र चलिरहँदा दर्शकदीर्घामा स्वयं तिनै कलाकार उपस्थित हुनु कार्यक्रमको विशेष आकर्षण बन्यो । पुरानो पुस्ताका दर्शकका लागि यो आफ्ना स्मृतिसँगको पुनर्मिलन थियो भने नयाँ पुस्ताका दर्शकका लागि नेपाली चलचित्र इतिहासको जीवित कक्षा बन्यो । ‘ओल्ड इज गोल्ड’बाट देखिएको सबैभन्दा बलियो तथ्य थियो— दर्शकको निरन्तर उपस्थिति । पहिलो दिनको भीडलाई उत्सुकता मात्रै मान्न सकिन्थ्यो । तर, दोस्रो दिन दुवै शो हाउसफुल हुनु, त्यसपछिका दिनमा पनि हल भरिनु र अन्तिम दिनसम्म दर्शकको उत्साह कायम रहनुले स्पष्ट सन्देश दिएको छ— पुरानो नेपाली सिनेमाका दर्शक अझै छन् ।

डिजिटल प्लेटफर्म, मोबाइल र स्ट्रिमिङको समयमा दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शक हलसम्म पुग्नुले पुरानो नेपाली सिनेमासँग दर्शकको भावनात्मक तथा सांस्कृतिक सम्बन्ध अझै जीवित रहेको देखाएको छ । यसले पुराना चलचित्रको संरक्षण केवल अभिलेख, रिल वा डिजिटल फाइल सुरक्षित राख्नु मात्र होइन, ती चलचित्रलाई पुनः दर्शकसम्म पु¥याउनु पनि संरक्षणकै एउटा महत्त्वपूर्ण पक्ष हो भन्ने सन्देश दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ऐतिहासिक चलचित्रको यस्तो प्रदर्शनलाई सात दिनमै सीमित नराख्ने घोषणा गरेका छन् ।

उनले हरेक महिना पुराना तथा ऐतिहासिक नेपाली चलचित्रको विशेष शो आयोजना गर्ने र त्यसबाट प्राप्त रकम चलचित्र कल्याणकारी कोषमा जम्मा गर्ने बताएका छन् ।सात दिनसम्म देखिएको दर्शक सहभागिताले उक्त घोषणालाई थप आधार दिएको छ । ‘ओल्ड इज गोल्ड’को सुरुवात अग्रज कलाकारले दीप प्रज्वलन गरेर गरेका थिए ।समापनमा तिनै अग्रज पुस्ताले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिए । यस अर्थमा सात दिनको यात्रा केवल दस पुराना चलचित्रको प्रदर्शनमा सीमित नभई यसले नेपाली चलचित्रको इतिहास, वर्तमान र भविष्यलाई एउटै थलोमा जोड्ने अवसरसमेत प्रदान ग¥यो ।


सर्वाधिक रुचाइएको