गाउंवासीको स्वास्थ्य परिक्षण

– सामाजिक सुरक्षा भत्तासमेत नवीकरण
लोकखबर
२०८३ श्रावण २८, बिहीबार ००:५१

बिदुर – गाउंवासी सर्वसाधारणको सुविधाका लागि नुवाकोटको लच्याङमा स्वास्थ्य शिविर गरिएको छ । सोही शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणसमेत गरिएको छ । सुर्यगढी गाउंपालिका १ लच्याङस्थित विभिन्न स्थानमा एकैपटक स्वास्थ्य शिविर र सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिला/पुरुष लाभग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा उक्त कार्यक्रम गरिएको सूर्यगढी गाउँपालिका–१ वडा कार्यालयले जनाएको छ । सुर्यगढी १ सलेनडाडा, बुलबुले, लच्याङमा सामाजिक सुरक्षा भत्ता नवीकरण तथा स्वास्थ्य परीक्षण शिविर गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार शिविरमा सहभागी लाभग्राहीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ ।

उक्त शिविरवाट उपचारका लागि सदरमुकाम बिदुर तथा काठमाडौ जान नसक्नेहरुलाई सुविधा पुगेको छ । उक्त कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।


सर्वाधिक रुचाइएको