अबको समाज समाजवादको लक्ष्यमा : घनश्याम भूसाल
मकवानपुर । समाजवादको लक्ष्यतिर युवाहरुको यात्रा हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भूसालले बताएका छन् ।
कैलाश गाउँपालिकाको सहयोगमा फिलिङ्गो मिडियाद्वारा आयोजित युवा क्षमता विकास कार्यशालालाई सम्बोधन गर्दै नेता भूसालले संविधानले नै समाजवादतर्फ उन्मुख हुनेगरी राज्य सञ्चालन गर्ने व्यवस्था गरिसकेको उल्लेख गर्दै समाजवादी चरित्र निर्माण गर्दै अघि बढ्नका लागि आग्रह गरे । ‘अहिले पुँजीवादले हामीलाई गाँजेको छ’, पूर्वमन्त्री समेत रहेका भूसाल भन्छन्-‘जबसम्म पुँजीवादी समाजको अन्त्य गरी समाजवादको यात्रामा हामी अघि बढ्दैनौ, तबसम्म दलालहरुले समाजवादी चरित्रहरु भएका मानिसहरुलाई झस्काइरहन्छन् ।’
नेपाली समाज सामन्ती युगको अन्त्य गर्दै अहिलेको अबस्थामा आएकाले अब पुँजीवादी व्यवस्थाको अन्त्य स्वाभाविक रहेको र समाजवादको बाटोमा लाग्न सकैले छेक्न नसकिने उनले दाबी गरे । ‘हामीले संविधान नै समाजवाद उन्मुख संविधान बनाएका छौँ’, नेता भूसाल भन्छन्-‘अबको बाटो राष्ट्रिय पुँजीको रक्षा गर्ने र क्षमता अनुसारको काम गर्न सक्नेलाई काम दिने, काम गर्न नसक्नेलाई सरकारले संरक्षण गर्ने नीति अख्तियार गरेर जानुको बिकल्प छैन ।’
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संविधानमा उल्लेख भइसकेको समाजवादको बिषयलाई गाउँगाउँमा लगेर मानिसहरुलाई सजग बनाउनुपर्ने बताए । उनले संसदीय व्यवस्था र अभ्यासका बारेमा युवाहरुले बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेश सभा सांसद मुनु सिग्देलले स्थानीय तहले युवाहरुलाई अध्ययनशील बनाउने काममा ध्यान दिएकामा धन्यवाद दिइन् ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद तथा नेकपा प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप),क नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य एकराज उप्रेती, नेकपाका जिल्ला कमिटी सदस्य नरेन्द्रलाल रिजाल, बनस्तम थिङ, तत्कालीन प्रेस चौतारीका उपमहासचिव रामकुमार एलन, केन्द्र्रीय सदस्य शिवकुमार काशी, युवा संघ नेपालका नेताहरु नवीन सुवेदी, लक्ष्मण उप्रेती, वाइसीएलका नेता कमल अर्याल, गोविन्द गलान लगायतको सहभागिता रहेको थियो ।
तीन दिनसम्म चलेको तालिममा युवा क्षमता विकासबारे डाक्टर बिजय पौडेल, नेकपाका स्थायी कमिटी सदस्य राम कार्की, राष्ट्रियसभा सांसद रामनारायण बिडारी लगायतले सहजीकरण गरेका थिए ।