मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता

– चोरीका मोटरसाइकल नियन्त्रण अभियान
लोकखबर
२०८३ श्रावण ३०, शनिबार ००:५४

बिदुर – नुवाकोटमा चोरीका मोटरसाइकल नियन्त्रण अभियान सन्चालन गरिएको छ । समातिएको मोटरसाइकल सम्वन्धित धनीलाई फिर्तासमेत दिइएको छ । आर्थिक बर्ष २०८३/०८४ को सुरुवातसंगै जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले छुट्टै बिशेष किसिमको नया योजना तयारी गरी कार्यन्वयनमा ल्याएसंगै साउन महिनाको अन्त्य सम्ममा ३ वटा चोरीका सवारी साधन मोटरसाइकल नियन्त्रणमा लिएको छ । यहि साउन १५ गते कागज पत्र नभएको कसुरमा नियन्त्रणमा ल्याइएको बाप्र०२–०५१प३०७५ नं.को २२० सिसिको पल्सर मोटरसाइकललाई नियन्त्रणमा ल्याई आबश्यक अनुसन्धान गर्दा वास्तविक नम्वर नै परिवर्तन गरेर चलाइरहेको खुलासा भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार वास्तबिक नम्वर प्लेट बाप्र०२–०५०प३७४२ लाई परिवर्तन गरि संचालनमा रहेको र सवारी साधन चलाउने चालकको खोजी कार्य तिब्ररुपमा जारी रहेको छ । उक्त मोटरसाइकल गत २०८२ साल फागुन १० राती काठमाडौं बालाजुबाट हराएको थियो भने शुक्रवार सम्बन्धित मोटरसाइकल धनी नुवाकोटको किस्पाङ गापा २ का पूर्णबहादुर तामाङलाई कार्यक्रमकावीच जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपि इकबाल हवारी र ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालद्वारा संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

चोरी गरिएका मोटरसाइकल नियन्त्रण अभियान अन्तर्गत यहि साउन २२ गते इलाका प्रहरी कार्यालय खरानीटारको क्षेत्रवाट बा४१प ९३५३ नं.को टिभिएस कम्पनीको आरटिआर मोटरसाइकल नियन्त्रणमा लिनुका साथै उक्त मोटरसाइकल चलाउने चालक र सोही मोटरसाइकल पछाडी सवार समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय नुवाकोट राखिएको डिएसपि हवारीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा ल्याइएको मोटरसाइकल यहि साउन ११ गते काठमाडौ बुढानिलकण्ठबाट हराएको थियो ।

बिदुर नपा ५ माझिटारमा ट्राफिक प्रहरीसहितको संयुक्त प्रहरी चेकजाँचको चेकिङ देखि भाग्ने क्रममा आफै अनियन्त्रित भई पल्टिन जाँदा चालक सहित बाप्र०२–००१प५१४२ नं.को २२० सिसिको पल्सर मोटरसाइकल र चालक समेतलाई नियन्त्रण लिई तत्काल आवश्यक खोजतालस तथा जाँचबुझ गर्दा चोरी भएको ठहर भई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ल प्रहरी कार्यालय नुवाकोट पठाइएको नुवाकोट प्रहरीले जनाएको छ । थप आवश्यक अनुसन्धान गर्दा बास्तविक नम्वर लुम्बिनी प्रदेश ०२–००१प५१४२ प्लेटलाई परिवर्तन गरी बागमती प्रदेश०२–००१प५१४२ नं.को बनाई चलाएको पाइएको डिएसपि हवारीले वताए ।

उनका अनुसार उक्त मोटरसाइकल गत २०८२ साल माघ २८ गते रातीे वजे काठमाडौको शंखमुल गणेशपार्कबाट पार्किङमा राखेको अवस्थामा हराएको थियो । सम्बन्धित धनिलाई सवारी साधन बुझिलिनका लागी जानकारीसमेत गरिसकिएको नुवाकोट प्रहरीले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको