ग्यांस डिपो तथा औषधि पसलहरुको अनुगमन
बिदुर – नुवाकोटको बिदुरमा उपभोक्ताका सरोकारको ग्यांस डिपो, औषधि पसहरुको स्थलगत अनुगमन गरिएको छ । यसका साथै रासायनिक मलको अवस्थाका सम्वन्धमासमेत निरीक्षण भएको छ । उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम उपभोक्ताको हकहित तथा अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै विदुर नगरपालिकाको विभिन्न वजारभित्र रहेका एलपी ग्यास तथा रासायनिक मलको अभाव सम्बन्धि गुनासो आएपछि बिदुर नपाको वजार अनुगमन समितिले बजार अनुगमन गरेको हो ।

बजार अनुगमन टोलीका संयोजक गणेशकुमार नेपालको संयोजकत्वमा प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागितामा मुख्य व्यापारिक केन्द्रहरू बट्टार बजार, कोलोनी तथा हात्तीगौंडा क्षेत्रका बजारहरूमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा उपभोक्तालाई सहज रूपमा आवश्यक वस्तु तथा सेवाको उपलब्धता सुनिश्चित गर्ने, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्ने, मूल्यसूचीको पालना तथा व्यापारिक गतिविधिलाई प्रचलित कानुनबमोजिम व्यवस्थित गर्ने विषयमा विशेष निगरानी गरिएको बिदुर नपा बजार अनुगमन टोलीका संयोजक गणेशकुमार नेपालको भनाई छ ।

उनका अनुसार उपभोक्ता हित संरक्षण, बजार व्यवस्थापन तथा अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रणका लागि बजार अनुगमन कार्य आगामी दिनहरूमा समेत निरन्तर तथा आकस्मिक रूपमा सञ्चालन गरिने छ । यसका साथै उपभोक्ताको हक, हित तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितताका लागि विदुर नपा क्षेत्रभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूबाट पदान भइरहेको स्वास्थ्य सेवा तथा औषधि बिक्री–वितरणको अवस्थाको अनुगमन गरिएको छ । टोलकिा संयोवक गणेशकुमार नेपालको संयोजकत्वमा बिदुर नपा २, ४ र ५ मा सञ्चालित विभिन्न औषधि पसल, क्लिनिक, पोलिक्लिनिक, अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सम्बन्धित स्वास्थ्य संस्थाहरूको सेवा सन्चालनको अवस्था, आवश्यक अभिलेख तथा कागजातको व्यवस्थापन, उपभोक्ता अधिकारको संरक्षण, संस्थागत व्यवस्थापन तथा स्वास्थ्य एवं सुरक्षा मापदण्डको पालनालगायतका विषयमा स्थलगत निरीक्षण गरिएको टोलीका संयोजक गणेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार निरीक्षणका क्रममा सुधार गर्नुपर्ने विषयहरूमा आवश्यक सुधार तथा व्यवस्थापन गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा सुझाव दिइएको छ ।





























































