कंगाल करोडपतिमा कलाकार थपिदै
– थपिए रक्षा र मन्जिलकुमार
बिदुर – नेपाली चलचित्र कंगाल करोडपतिमा कलाकार थपिने क्रम जारी रहेको छ । पछिल्लो समय दुई जना कलाकार थपिएका छन् । निर्माण पक्षले अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमारलाई अनुबन्धित गरेको हो । कलाकारको लाइनअपले ‘कंगाल करोडपति’प्रति दर्शकको चासो बढाउने निर्माण पक्षको विश्वास रहेको छ ।

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र ‘कंगाल करोडपति’मा कलाकारहरू थपिने जारी छ । चलचित्र ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी रक्षा र ‘कोसेढुङ्गा’ मार्फत डेब्यु गरेका मञ्जिलकुमारको प्रवेशसँगै चलचित्रको कलाकार टोलीमा नयाँ उत्साह थपिएको निर्माण पक्षले जनाएको छ । सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘कंगाल करोडपति’मा यसअघि नै चर्चित अभिनेता मुकुन भुसाल र नव–अभिनेत्री सलिना तामाङ मुख्य भूमिकामा रहने भएक छन् ।

यस चलचित्रका लागि अन्य कलाकारहरुसमेत फाइनल भइसकेको केहि कलाकार थपिने क्रममा रहेको निर्देशक राजु श्रेष्ठको भनाई छ । सलिनाले यही चलचित्रमार्फत नेपाली सिनेमामा डेब्यु गर्दैछिन् । यसै चलचित्रको एउटा विशेष भूमिकामा अभिनेता रेयर राई पनि अनुबन्धित भइसकेका छन् । रक्षा र मञ्जिलको आगमनले ‘कंगाल करोडपति’को कथावस्तु र अभिनय पक्षलाई अझ जीवन्त बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

कंगाल करोडपति नुवाकोटको विभिन्न मनमोहक स्थानका साथै काठमाडौंमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । यहि भदौंको तेश्रो सातादेपिख चलचित्र छायांकनमा जाने तयारी रहेको छ । कंगाल करोडपति चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका हुन् । निर्देशक श्रेष्ठले चलचित्रलाई स्तरीय र दर्शकको चाहना अनुरूप बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

यस चलचित्रका प्रस्तुतकर्ता प्रविण आचार्य हुन् भने यसलाई अनिलकुमार बुढाथोकीले निर्माण गर्दैछन् । कंगाल करोडपतिको सह–निर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा रहेका छन् । रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरमा रहेका छन् । निर्माण पक्षका अनुसार हाल चलचित्रको प्रि–प्रोडक्सनको काम धमाधम भइरहेको छ ।

नुवाकोट र काठमाडौंका विभिन्न स्थानमा लोकेसन रेकी (छायांकन स्थलको छनौट) गरिसकिएको र कलाकारहरूको वर्कसपसँगै छिट्टै छायांकन सुरु गर्ने तयारी रहेको निर्माण टोलीले जनाएको छ । यसमा नेपाली समाजको अवस्था प्रस्तुत गरिने निर्देशक राजु श्रेष्ठको भनाई छ ।











































