नुवाकोटको तीन स्थानीय तह विपद संकटग्रस्त घोषणा
बिदुर – चार दिन अगाडि आएको अकल्पनीय बाढीले क्षति गरेको नुवाकोटको तीन स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको छ । बाढीले ठुलो जनधनको क्षति गरेको नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारेश्वर गाउँपालिकालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । नुवाकोटसहित भोटेकोशी बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहु जिल्लामा बाढीले क्षति गरेको १५ स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

नेपाल–चीन सीमानास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका ति जिल्लाका १५ स्थानीय तहलाई सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार १५ स्थानीय तहलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी पांच जिल्लाका १५ स्थानीय तहलाई सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राजपत्रमा भनिएको छ ।

संकटग्रस्त क्षेत्र घोषण भएका नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारेश्वर गाउँपालिका, नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगया, गोसाईंकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाटरोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबूखैरेनी गाउँपालिका रहेका छन् । बाढी आएको चार दिन अर्थात् शनिवार रातीसम्म पनि हेलिकप्टरमार्फत नुवाकोटमा बाढीमा घाइते तथा फसेकाहरुको उद्धार कार्य भइरहेको जिल्ला सुरक्षा समिति नुवाकोटले जनाएको छ ।










































