दश मिनेटमै उजाडियो ऐतिहासिक त्रिशूलीबजार
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका धेरै बस्ती उजाड भएका छन् । बाढीले १० मिनेटमै नुवाकोटको पुरानो ऐतिहासिक वजार उजाड वनाइदिएको हो । खाना खान लागिरहेका बेला आएको बाढीले धेरैलाई वेपत्ता वनाएको छ । हजारौं घरवार विहीन भएका छन् ।
बाढीले नुवाकोटको सदियौं पुरानो त्रिशूली वजार भग्नावशेष वनाइदिएको छ । एकहजार भन्दा धेरै घर भएको उक्त एतिहासिक वजार अहिले माथिल्ले भेगका १० प्रतिशत घरमात्र सग्लो छन् । वचेका घर सग्लो भएपनि वस्न उपयुक्त नभएको स्थानयिवासी वताउंछन् । त्रिशूली अर्थात् सांघु वजारको नामले प्रसिद्ध उक्त वजार हुंदै सदियौं पहिले काठमाडौवाट नुवाकोट, धादिङ, गोरखा हुदै पाल्पासम्म पैदल तथा घोडामार्फत जाने मुख्य मार्ग रहेकोमा सडकमार्ग वनेसंगै पैदलमार्ग हुन छाडेको थियो ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समय १८०१ सालमासमेत गोरखावाट धादिङ हुदै त्रिशूली नदी तरेर नुवाकोट टाकुरोमाथि आक्रमण गरि विजय प्राप्त गरेका थिए । राणा प्रधानमन्त्रि जंगवहादुरलेसमेत त्रिशूली वजारमै रहेको तत्कालीन पुलमा घोडासहित हामफालेको किम्वदन्ती रहेको छ । अधिकांश नेवार समुदायको व्यापारिक क्षेत्र तथा अन्य मिश्रित समुदायसमेत वसोवास गरिरहेको त्रिशूलीवजार यहि भदौ १० गते वुधवार विहान १० वजे आएको विनासकारी बाढीले क्षणभरभै वगरमा परिणत गराएदिएको हो । अहिले वचेका घरवाट आफ्ना केहि सामान भेटिन्छन कि भनेर पीडितहरु आफ्नो घरमा पुगेर टोलाइरहेका हुन्छन् ।
नुवाकोटकै मुख्य व्यापारिक केन्द्र त्रिशूलीवजारमा ठुला र साना गरि एकहजार घर भएकोमा ९० प्रतिशत बाढीको चपेटामा परेको स्थानीय पीसिडत केशववहादुर श्रेष्ठले वताए । अव वजार कहिले पनि उठ्न नसक्ने गरि उजाडिएको छ, मेरो घरको दुई तला बाढीले पुरै पुरिदिएको छ–श्रेष्ठले भने । उनी बाढीको चपेटामा आफ्नै घरमा १० वजे परेकोमा वेलुकी चार मात्र जेसिभीले आफुसहित ११ जनालाई उद्धार गरेको वताए । नुवाकोटको पहिचान र एतिहासिक त्रिशूलीवजार १० मिनेटमै सखाप भएको श्रेष्ठले वताए ।

त्रिशूलीवजारमा वाढीले ७० जना हराइरहेको श्रेष्ठले वताए । कतिपयको खोजी कार्य भइरहेको छ भने कतिपयको खोजी कार्य स्थगित गरिएको स्थानयिवासी वताउंछन् ।
बाढीले खण्डहर वनाएको त्रिशूलीवजारका बंचेका व्यक्तिहरु आफ्नो घरको निशाना खोज्दै भौतारिरहेका छन् । उनीहरु पहिले आफ्नो घर भएको स्थानको पहिचान गर्दै बाढीले वढारेको स्थानमा पुगिरहेका छन् । त्रिशूलीवजारका हजारौं व्यक्ति घरवारविहीन भएका छन् । कतिपय घरको निशाना नै छैन् ।
पारी त्रिशूली र बारी ढुंगेवजारवीच आवतजावत गर्न दुई वटा पक्कि मोटरेवल पुला बाढीले मिनेटभरमै ध्वस्त पारिदिएपछि आवतजावत नै ठप्प भएको छ । राहत लैजानका लागि पांचसय मिटर माथि एउटा तुइन गाडिएको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा सरकारी निकायले करिव आठसय घर वगाएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेपनि दुई हजार भन्दा वढि घरटहरा वाढीले वगाएको स्थानीयवासीे वताउंछन् । बाढी गएको आठौं दिन वुधवारसमेत खोज तथा उद्धार कार्य भइरहेको छ ।












































