बाढीग्रस्त ढुंगे–त्रिशूली जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको व्यस्त ढुंगे र त्रिशूलीवजार जोड्ने पक्कि पुललगायतका संरचना मिनेटभरमै उडाइदिएपछि उक्त स्थानमा झोलुङ्गे पुल वन्ने भएको छ । एक महिनाभित्र झोलुङ्गे पुलको निर्माण गरिसकिने जनाइएको छ । बिदुर नगरपालिका १ ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागबाट नदीपारी त्रिशूली बजार जोड्ने २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।

उक्त पुलले नुवाकोटसहित रसुवा, धादिङ र गोरखाका ५० हजार भन्दा बढी सर्वसाधारण लाभान्वित हुने देखिएपछि नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो । उक्त पुल एककरोड २५ लाखको लागतमा निर्माण गरिने जनाइएको छ । मन्त्रालयका प्राविधिक विज्ञहरूसँगको परामर्शमा पुल निर्माण कार्यलाई अघि बढाइएको महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।

महासंघ अध्यक्ष पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलद्वारा बाढी प्रभावित नुवाकोटका विभिन्न स्थानको अवलोकन तथा निरीक्षण, क्षतिग्रस्त पूर्वाधार निर्माणमा सहयोगको प्रतिबद्धतासमेत जनाएको छ । अध्यक्ष पाण्डे नेतृत्वको टोलीले भदौ १० गते वुधवार चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटका विभिन्न ठाउँमा भएका अकल्पनीय मानवीय एवं भौतिक क्षतिको स्थलगत अवलोकन एवं निरीक्षण गरेको छ । प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिहरूसँगै देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाट लगायतका क्षेत्रमा बाढीका कारण भएको ठूलो क्षतिका बारेमा जानकारी लिएको छ ।

स्थलगत निरीक्षणसंगै ढुंगेमा झोलुङ्गे पछि पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पताल सहित किस्पाङ्ग र म्यागङ गाउँपालिका तथा विदुर नगरपालिका ७, ८, ९ र ३ का केही भूभागसँग विच्छेद भएको सम्पर्क पुर्नस्थापना भई हजारौं लाभान्वित हुने छ । महासंघ अध्यक्ष पाण्डे नेतृत्वको टोलीलाई विदुर नपाका मेयर राजन श्रेष्ठ, जिल्ला स्थित नेपाली सेनाका अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखलगायतले विनासकारी बाढीका कारण नुवाकोटमा भएको क्षति र पुर्ननिर्माणबारे अवगत गराएका थिए । महासंघ टोलीमा अध्यक्ष पाण्डेसँगै महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्य समिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्कालगायतले दीर्घकालीन र गुणस्तरिय, सुरक्षित निर्माण अवको आवस्यकता रहेको वताए ।












































