दैनिक पचास टन तरकारी भित्रने हेटौंडामा अहिले पाँच टन मात्रै उपलब्ध

गाउँगाउँका सडक अवरुद्द हुँदा तरकारीको भाउ बढ्यो
लोकखबर
१ श्रावण २०७६, बुधबार ०९:१०

मकवानपुर । अविरल वर्षापछि गाउँका सडक अवरुद्द हुँदा हेटौंडा बजारमा तरकारी महङ्गिएको छ । सडक अवरुद्द भएपछि तरकारी गाउँमै थन्किँदा हेटौंडाका उपभोक्ता मङ्गोमा तरकारी किन्न बाध्य बनिरहेका छन् ।

लोकखबर डटकमले बुधबार विहान हेटौंडाको ख्वपगल्लीमा केही तरकारी पसलमा अनुगमन गर्दा तरकारीको भाउ बढेको पाइयो ।

बर्षाअघि ५० रुपैयामा होलसेल पर्ने टमाटरको होलसेल मूल्य अहिले रु.११० पुगेको छ भने उपभोक्ताले किन्दा एक सय ५० रुपैया किलो तिर्नु परिरहेको छ । बन्दा केही दिनअघि होल १५ रुपिया होलसेल प्रतिकिलो रहेकोमा अहिले ३५ रुपैया होलसेल मूल्य पुग्दा उपभोक्ताले ६० रुपिया प्रतिकिलो किन्नु परेको छ । केही दिनअघि काउली होलसेल प्रतिकिलो ४० रुपैया रहेकोमा अहिले होलसेल मूल्य नै प्रतिकिलो ७० रुपिया र उपभोक्ताले किन्दा एक सय ४० रुपैया तिर्नु परिरहेको छ । केही दिन अघि मुला होलसेल प्रतिकलो ३५ रुपैया रहेकोमा अहिले होलसेल मूल्य ५० रुपैया परेको छ भने उपभोक्तासम्म पुग्दा प्रतिकिलो ८० रुपैया पुगेको पाइएको छ ।

बजारमा गाँजर, धनिया, अदुवा, खुर्सानी, पर्वल, साग लगायत तरकारीको मूल्य बढेको छ । तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मुक्तानका अनुसार वर्षाका कारण गाउँगाउँबाट हेटौंडा बजारमा आवश्यक तरकारी आइनपुगेकाले अहिले मुल्य बढेको हो । उनका अनुसार विगतको तुलनामा हेटौंडा बजारमा करिब पाँच प्रतिशत मात्र तरकारी आइपुगेको छ । ‘वर्षाले गाउँगाउँबाट तरकारी बोकेर हेटौंडा आउँने गाडीको सडक अवरुद्द भयो ।’ अध्यक्ष मुक्तानले भने,‘दैनिक ५० टन तरकारी हेटौंडा बजारमा आउँने गरेकोमा अहिले जम्मा ५ टनमात्र तरकारी आउँने गरेको छ अनि आवश्यकता नधानेकाले मूल्य बढेको हो । ’

मकवानपुरको भीमफेदी, नामटार, चुनिया, कुलेखानी, दामन, फाखेल, सिस्नेरी, आग्रा, गोगने लगायत गाउँबाट आउँने तरकारी सडक अवरुद्द हुँदा नआएपछि अहिले मकवानपुर लगायत अन्य क्षेत्रमा तरकारी अभाव भएको छ । गाउँगाउँबाट हेटौंडामा आउँने तरकारी बारा, सर्लाही, नारायणघाट, धरान, पोखरा, बुटबल लगायत जिल्लामा जाने गरेकोमा अहिले बाहिरी जिल्लामा पठाउँन नसकिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।

हेटौंडा बजारमा अहिले आइरहेको तरकारी पनि ग्रामीण क्षेत्रका किसानले जोखिम मोलेर पठाइरहेको उनले बताए । जिल्लाको हाडीखोला, आमभञ्ज्याङ लगायत ठाउँबाट आएको तरकारी हेटौंडामा रहेको उनले बताए । ग्रामीण क्षेत्रमा अवरुद्द बनेका सडक निर्माण नगरेसम्म हेटौंडा बजारमा तरकारी अभाव भइरहँदा प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*