बाढीमा फसेका दुई जनाको एघार दिनमा जिवितै उद्धार

किरिया सुरु गरेको दुई दिनमा वृद्धा सकुशल
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २०, शनिबार २३:११

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा फसेका दुई जनाको शनिवार सकुसल उद्धार गरिएको छ । प्रलयकारी वाढीले वगाएको ११ दिनमा नुवाकोटको वेत्रावतिवाट एक वृद्धा र मैलुङवाट एक जना विदेशी नागरिकको सकुशल उद्धार गरिएको हो । बाढी गएको लामो समयसम्म अत्तोपत्तो नएपछि वृद्धाको कुशको मानवाकृति वनाएर अन्त्येष्टि गरि काजकिरियासमेत सुरु गरिएको थियो । वाढी गएको ११ औं दिनमासमेत स्थल तथा हवाई उद्धार जारी रहेको छ ।

नुवाकोटमा रहेका नदी किनारा र आसपासका बस्ती वगाएको छ । बाढीले हताहत भएकाहरुको खोजी भइरहेको छ । भोटेकोशी हुदै त्रिशूली नदीमा अकल्पनिय बाढी आएको ११औँ दिनमा शनिवार दुई जनाको जीवितै उद्धार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । एक जना वृद्धा महिलाको वेत्रावति र मैलुङवाट एक जना चिनीया नागरिकको उद्धार गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार उद्धारकर्मीहरूले वृद्धाको घरबाट र चिनीया नागरिकको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका १० बेत्रावतीमा रहेको आनन्दलाल श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट उनकी धर्मपत्नी ६४ वर्षिया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । लामो समयसम्म उनको वास्तविकता नभएपछि छोराहरुले काजकिरियासमेत दुई दिन अगाडि सुरु गरेको छिमेकी अष्टमान डंगोलले जानकारी दिए । वेत्रावतिवजारमा कपडा पसल सन्चालन गर्दै आएका चण्डीका बाढीको १ज्ञ दिनमा सकुशल फेला परेपछि परिवारमा खुसी छाएको छ ।

उनका पति आनन्दलाल श्रेष्ठ भने अझै वेपत्ता रहेको छिमेकी डंगोलले वताए । उनकोसमेत खोजी भइरहेको छ । स्थानीयवासी, आफन्त तथा सुरक्षाकर्मीले चण्डीकालाई चार तले वगेको घरको चौथो तल्लावाट उद्धार गरेका हुन् । सशस्त्र प्रहरी निरीक्षक सुमन विकको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिवार उनलाई उद्धार गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए । बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको मानवाकृति बनाएर उनको काजकिरिया नै सुरु गरिसकेको थियो । मृत्यु संस्कार चलिरहँदा बाढी आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेपछि परिवारजनमा अर्को विशेष खुसीयाली छाएको छ । उनको सैनिक अस्पताल छाउनीमा उपचार सुरु गरिएको छ ।

भोटेकोसी हुदैँ त्रिशूली नदीमा आएको प्रलयकारी बाढीमा फसेकी बिदुर नपा–१० स्थित बेत्रावतीवजारकी चण्डिका श्रेष्ठको सकुशल उद्धार गरिएको छ । भदौ १० गते वुधवार आएको बाढीबाट प्रभावित भएर फसेको एघार दिनपछि सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुमन विश्वकर्माको नेतृत्वमा खटिएको उद्धार टोलीले उनलाई वगेको घरको चौथो तलाबाट उद्धार गरेको हो । उनको उद्धारमा सशस्त्र प्रहरी बल सहित नेपाल प्रहरीको उद्धारकर्मी संलग्न रहेको थियो । उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो ।

उद्धारपछि हेलिकप्टरमार्फत छाउनीस्थित सैनिक अस्पतालमा लगिएको छ । त्रिशूलीले वेत्रावति बस्ती वगाएको ११ दिन पछि उनको सकुशल उद्धार भएको हो ।नुवाकोटतर्फको बेत्रावतीमा खोजी तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक सुमन विश्वकर्माले उद्धार गरिएको घर भदौ १० गतेको बाढीले सय मिटर माथिबाट बगाएर ल्याएको घर हो, घर चार तलाको छ । तर बाढीले ल्याएको लेदो र गेग्रानले पुरेको छ, चौथो तल्लाको आधा भाग मात्रै देखिएको छ । खोजीकै क्रममा आवाज आएपछि टोली त्यसतर्फ गएको उनको भनाई छ । ’बचाऊ बचाऊ भनेको आवाज आयो, ।’ उनले भने, ’आवाज इको आए जसरी कहाँ–कहाँबाट हो आवाज आएजस्तो भयो, त्यसपछि त्यहाँ छिरेका हौं ।’

आवाज आएपछि घरको माथिल्लो भागमा सानो झ्यालजस्तो रहेको ठाउँ फुटाएर उद्धार टोली प्रवेश गरेको उनले बताए । उद्धारकर्मी नजिक पुगेपछि चण्डिकाले पानी मागेकी थिइन् । ’हामीले नआँत्तिनुस् भन्यौं र उद्धार गरेर हेलीकप्टरमा राखी काठमाडौं पठायौं,’ इन्स्पेक्टर विश्वकर्माले भने । बेत्रावतीमा रहेका अन्य घरहरूमा पनि निरन्तर खोजी भइरहेको उनले बताए । बिनासकारी बाढीले चण्डिका र उनका श्रीमान् घरभित्रै रहेको बेला साढे चार तल्लाको घरलाई नै जुरुक्कै उचालेर लगेको थियो । उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूलीको किनारमा पुगेर अड्किएको थियो ।

‘हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ,’ रमेशमानले भने, ‘कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आश मा¥यौँ ।’ चण्डिकाका ज्वाइँले दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा खोजतलास गरेका थिए । तर, वरपर लासहरू गन्हाउन थालेको र मास्कविना जानै नसकिने अवस्था आएपछि उनीहरू निराश भएर फर्किएका थिए । दलदलका कारण उद्धार टोली समेत पुग्न सकेको थिएन, ‘फर्केर आएको भोलिपल्ट वा पर्सिपल्ट परिवारका सबै सल्लाह गरे, ।’ रमेशमानले थपे, ‘कुश बनाएर काजकिरिया र दाहसंस्कार गर्ने निधो भयो र किरिया पनि सुरु भयो, ११ दिनमा सकुसल भेटिनुभयो ।’

त्यसपछि काठमाडौँको सानोभ¥याङस्थित घरमा काजकिरिया सुरु गरिएको थियो । एकातिर परिवार किरियामा बसेको थियो, अर्कोतिर रमेशमानको मनले भने पूर्ण रूपमा हार मानेको थिएन । ११ औँ दिनमा जब चण्डिका जीवितै फेला परिन् । परिवारको खुसीको सीमा रहेन, खबर पाएलगत्तै रमेशमान अस्पताल पुगेका हुन् ।
अस्पतालले चण्डीकालाई ७२ घण्टासम्म कसैलाई भेट्न नदिई उपचार गनुपर्ने भनेपछि परिवारजन बाहिरैबाट हेरेर पर्खिरहेका छन् ।

चण्डिकाको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो । उनको दाहिने तिघ्रामा गहिरो घाउ छ, सुगर, प्रेसर र मुटुको रोगी चण्डिकामा हाइपरथेमियाको लक्षण देखिएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार हाइपरथेमिया शरीरको तापक्रम असामान्य रूपमा बढ्नु वा अत्यधिक शरीरको तापक्रम हो ।

उता, मैलुङवाट बाढीको गएको ११ औँ दिनमै एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट बाढी आएको ११ औँ दिनमा एक जना चिनियाँ नागरिकको उद्धार गरिएको हो । खोज तथा उद्धार कार्यका क्रममा उनलाई सुरुङबाट सकुशल बाहिर निकालिएको हो । यसअघि शुक्रवार अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट २ जना कर्मचारीको जीवितै उद्धार गरिएको थियो ।


सर्वाधिक रुचाइएको