बाढी प्रभावित स्थलमा विद्यालय खोलिने
बिदुर – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नुवाकोटको विभिन्न स्थानमा विद्यालय सन्चालन गरिने भएको छ । बाढी गएको दुई सातामा विद्यालय खोल्ने तयारी सुरु भएको हो । विनाशकारी बाढीका कारण प्रभावित भएका बिदुर नगरपालिकाका विद्यालयहरू भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका हुन् । नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार बाढीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागिएको हो ।
बिदुर नपाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) का रूपमा प्रयोग भइरहेका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय नियमित सञ्चालन गर्न अनुरोध गरेको हो । भदौ १० गते वुधवार आएको विनाशकारी बाढीबाट विदुर नगरपालिकामा सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय पूर्ण रूपमा प्रभावित भएका छन् । विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुगेपछि ती विद्यालयमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ देखिएको छ । बाढी र त्यसपछिको विपद्का कारण झण्डै ३ सय विद्यार्थी सम्पर्कविहीन रहेको जनाइएको छ ।

उनीहरूको अवस्था तथा हालको बसोबासबारे समेत खोजी तथा समन्वय आवश्यक देखिएको छ । बिदुर नपाले विद्यालय सञ्चालन गर्दा विद्यार्थीको सुरक्षा, विद्यालयको भौतिक अवस्था तथा आवतजावतको अवस्थालाई ध्यान दिन आग्रह गरेको छ । बिदुर नपाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । हाल होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने जनाइएको छ ।
विदुर नपाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाबाट आएका भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी अन्यत्र व्यवस्थापन गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ । बाढीबाट पूर्ण क्षति भएका विद्यालयका विद्यार्थीका लागि भने वैकल्पिक व्यवस्थामार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ । बाढी प्रभावित विद्यार्थी, सर्वसाधारण तथा पीडितहरुलाई मनोसामाजिक परामर्श आवस्यह रहेको जनाइएको छ ।

बाढी प्रभावितलाई नगदः
नुवाकोटको विदुर नगरपालिकाले बाढी पीडित तथा विस्थापित नागरिकको व्यवस्थापन र पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ । पाँचबुँदे निर्णय गर्दै बिदुर नपाले बाढी प्रभावितहरुलाई नगद राहत दिने जनाएको छ । बिदुर नगर कार्यपालिकाको बैठकले बाढीका कारण बस्न अयोग्य भएका विदुर नगरवासीलाई तत्कालका लागि परिवारको घरभाडा स्वरूप मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

बिदुर नपाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित/चलनचल्तीको भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ । त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी बाढीपीडितको पुनःस्थापना गर्ने निर्णय पनि गरेको छ ।भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित परिवारको तत्कालीन आवास र विद्यालय सञ्चालन दुवै चुनौती बनेका बेला विदुर नपाको उक्त निर्णय पुनःस्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यसले बाढी पीडितहरुलाई केहि सहयोग मिल्ने ठहर गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।












































