राष्ट्रपति पौडेल बाढी प्रभावित नुवाकोटमा
बिदुर – राष्ट्रपति रामचन्द्र पौडेल सोमवार अकल्पनीय बाढीग्रस्त नुवाकोट आएका छन् । उनले बाढी प्रभावित स्थलको अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई प्रतिनिधि सभाका सदस्य तथा सुरक्षा निकायले बाढीले पारेको प्रभाव तथा १३ दिनको अवस्थाका सम्वन्धमा जानकारी गराएका हुन् । राष्ट्रपति पौडेलले विपदको समाधानका लागि सवै पक्षको सामूहिक सहकार्यमा जोड दिएका छन् ।

उनले तीनै तहका सरकार मिलेर विपदको सामाना गर्नुपर्ने बेला आएको वताए । जनताको जिउधनको सुरक्षा प्रमुख दायित्व रहेका कारण विपदको न्युनीकरण तथा पुर्नस्थापनाको विषयमा आवस्यक कार्य गर्न उनले सम्वन्धित पक्षलाई भनेका छन् । राष्ट्रपति पौडेललाई प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसीले यहि भदौ १० गते वुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नुवाकोटको वारेमा जानकारी गराएका छन् ।

स्थलगत अवलोकनको क्रममा राष्ट्रपति पौडेललाई सुरक्षा निकायले सेनाको नं १ सैन्य तालिम केन्द्र मैथली नुवाकोटमा सुरक्षा निकायले बाढीबाट प्रभावित क्षेत्रमा अहिले भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुर्नस्थापनालगायतका विषयमा जानकारी गराएका छन् । राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्र र विभिन्न होल्डिङ सेन्टरहरुको स्थलगत अवलोकनसमेत गरेका छन् । उनले अकल्पनीय वाढीले गरेको क्षति अतुलनीय रहेकोसमेत वताए ।

सैन्य तालिम केन्द्रमा राष्ट्रपति पौडेलले नेपाली सेनाका अधिकृतहरू तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनःस्थापनाका प्रयासबारे जानकारी लिएका हुन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नुवाकोटको बिदुरसहित बेलकोटगढी नपा किस्पाङ, तारकेश्वर गापालगायतको स्थानमा बाढीले क्षति गरेको वताए । राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै प्रभावितका लागि सञ्चालन गरिएको वट्टारस्थित होल्डिङ सेन्टरको समेत अवलोकन गरि प्रभावितहरुको गुनासो सुनेका हुन् ।

भोटेकोशी हुदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन् । राष्ट्रपति पौडेलको स्थलगत अवलोकनले प्रभावितको अवस्था प्रत्यक्ष रूपमा बुझ्न र राहत तथा पुनःस्थापनाका आवश्यकताबारे सम्बन्धित निकायलाई थप ध्यानाकर्षण गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति पौडेलले सोमबार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, पुनःउत्थान तथा पुनस्र्थापना लगायतका विषयमा जानकारी लिएका हुन् । राष्ट्रपति पौडेलले त्यसपछि बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका हुन् ।

















































