चिनियाँ राजदूत बाढीग्रस्त नुवाकोटमा

– विपत्तिमा सधैँ नेपाललाई सहयोग
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र २६, शुक्रबार २२:१२

बिदुर – बाढीले खण्डहर बनाएको नुवाकोटको विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन गरेका छन् । बाढी गएको १६ दिनपछि सोमबार नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नुवाकोटको बाढीग्रस्त स्थानहरूको स्थलगत अवलोकन, निरीक्षण तथा भ्रमण गरेका हुन् । राजदूत माओमिङले आफ्ना अधिकारीसहित नुवाकोटको बाढीग्रस्त विदुर नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

माओमिङले भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा यहि भदौ १० गते आएको अकल्पनीय बाढीले क्षति गरेको नुवाकोटको ढुङ्गे, त्रिशूली, शुभघाट, भैंसेलगायतका स्थानहरूको अवलोकन भ्रमण गरेका हुन् । काठमाडौँबाट स्थलमार्ग हुँदै नुवाकोट आइपुगेका चिनियाँ राजदूतले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन् । विपत्तिमा सधैँ नेपाललाई चीनले सहयोग गरिरहेकोसमेत उनले बताए । चिनियाँ राजदूत माओमिङले नुवाकोटका सरकारी अधिकारीहरूसँग विनाशकारी बाढीले गरेको क्षतिका सम्बन्धमा संक्षिप्त जानकारीसमेत लिएका छन् ।

विनाशकारी बाढीमा परी बिहीबारसम्म नुवाकोटमा एकसय ९८ जनाको शव निकालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परेका ६६ जनाको उपचार गरिएको छ भने बिहीबारसम्म पनि खोजी कार्य जारी रहेको छ । हालसम्म दुई सय ७१जना विदेशी नागरिकसहित दुई हजार छ सय एकान्नब्बे जना हराइरहेको प्रशासनका अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए ।

बाढीमा परेका, फसेका र विभिन्न स्थानमा अडकिएकासमेत गरी तीन हजार चार सय ९१ जनाको हवाई तथा स्थलगत उद्धार गरिएको उनले बताए । नुवाकोटका बाढीपीडितहरूका लागि विभिन्न २५ स्थानमा कायम आश्रय केन्द्रमा हालसम्म एक हजार दुई सय ९४ महिलासहित दुई हजार छ सय २० जना आश्रित छन् । विदुरमा ट्यांकर र देवीघाटमा बोरिङबाट जेनेरेटर प्रयोग गरी पानी वितरण भइरहेको छ । पानीको स्थायी समाधानको उपायसमेत खोजिएको छ ।


सर्वाधिक रुचाइएको