काङ्ग्रेस नेता पराजुली भन्छन्, ‘दुई तिहाईको सरकार बरालियो’
मकवानपुर । नेपाली काङ्ग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार जनताको काम गर्न छाडेर अनावश्यक कुरामा बरालिरहेको आरोप लगाएका छन् ।
उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि सरकार आफै बरालिएको र गालीगलौचमा उत्रिएको आरोप लगाए । नेता पराजुली काङ्ग्रेस हेटौँडा उपमहानगर वडा नम्बर १६ इकाइ समितिको आयोजनामा बिहीबार नगरको विकट बस्ती शक्तिखोलामा आयोजित कार्यक्रममा बोल्दै थिए ।
पार्टी जिल्ला सदस्य सुशान्त श्रेष्ठले काङ्ग्रेसले जितेका स्थानमा बमोजिम काम भइरहेको बताए । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार बरु आफूले काम गरिरहेको तर नेकपाको दुई तिहाइको सरकार भएपनि काम गर्न असक्षम भएको आरोप लगाए ।