जन प्रतिनिधीले आफूलाई राजा नठानुन् भनेर प्रदेश ३ का मुख्यमन्त्री छलफलमा जुट्दै ?
मकवानपुर । संघीयताको अभ्यास भइरहेको नेपालमा सरकारका विभिन्न तहबिच आपसमा समन्वय नभइरहेको गुनासो आइरहेको छ । स्थानीय तहका जन प्रतिनिधीले आफूलाई राजा सम्झिएको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा आयोजित स्थानीय तहका प्रतिनिधिको समन्वयात्मक बैठकमा बताएका थिए । उनको यो भनाई सरकारहरु आपसमा मै ठूलो भन्ने सोचाईमा छन् भन्ने पुष्टि गरेको थियो । अझ स्थानीय तहले अहिले विभिन्न विषयमा आफूखुसी कर लगाउँन थालेपछि जनताको वितृष्णा बढ्न थालेको भन्दै गुनासो आइरहेको छ । यस विषयमा स्थानीय तहका प्रतिनिधीसंग छलफल गर्ने सुरमा मुख्यमन्त्री रहेको स्रोतको भनाई छ ।
प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले यही विषयमा केही स्थानीय तहहरु संग समन्वय बैठक गर्ने तयारी गरेको बुझिएको छ । समन्वय बैठकमा स्थानीय तहले गर्ने राजस्व सङ्कलन र राजस्व बाँडफाडका बिषयमा छलफल गर्ने योजनामा मुख्यमन्त्री छन् । समन्वय बैठकको मिति यकिन नभएपनि यही साउन महिना भि गर्ने बुझिएको छ । बैठकमा प्रदेश ३ का सबै जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका र नगरपालिका संघका अध्यक्ष केही महानगरपालिकाका प्रमुख समेत उपस्थित हुनेछन् ।
‘तीन सरकार तीन तिर’ भन्दै सरकारहरुका बिचका समन्वय अभावका विषयमा आलोचना भइरहेको बेला स्थानीय तहमा देखा परेका विभिन्न समस्याबारेमा मुख्यमन्त्रीले छलफल गर्न खोज्नु पक्कै पनि सकारात्मक पक्ष हो । स्थानीय तहका जनप्रतिनिधीले आपसमा आफूलाई नागरिकप्रति अझ उत्तरदायी बनाउँदै उनीहरुको सर्वाङगीण हितका पक्षमा लागिपर्नु आवश्यक भइरहेका बेला समन्वय बैठक उपयोगी बनोस् भन्ने विभिन्न सरोकारवाला क्षेत्रको शुभेच्छा छ ।