यसरी मनाइदैछ संविधान दिवस

लोकखबर
२६ भाद्र २०७६, बिहीबार ०८:०७

सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने तयारी गरेको छ। संविधान जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउँदै आइएको छ।

संविधान दिवस असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी मनाउने तयारी सरकारको छ। यसैलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सरकारले भनेको छ।

सरकारका सबै तहमा संविधान दिवसका कार्यक्रम आयोजना गर्न गृह मन्त्रालयको अनुरोधमा सङ‍्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिको कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिइसकेको छ। मन्त्रालयले बुधबार सबै जिल्ला समन्वय समितिका कार्यालय र स्थानीय तहलाई पत्र पठाइ तोकेको कार्यक्रम आयोजना गर्न भनेको छ।

केही दिन संविधान दिवस भव्यसाथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ३७ सदस्यीय संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन गरेको थियो। सोही समितिले पारित गरेको कार्यक्रमलाई गृहबाट सङ‍्घीय मामिला हुँदै अहिले स्थानीय तहसम्म पुगेको हो।

समितिले तय गरेका कार्यक्रमअनुसार असोज २ गते उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाले आ-आफ्ना क्षेत्रका विभिन्‍न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ नगरेको श‍ृङ‍्गार र सरफाइ गर्नुपर्नेछ।

‘मुलुकभरका सरकारी कार्यालयले आफ्ना कार्यालय परिसरमा तथा आमनागरिकले घरघरमा सरसफाइ र दिपालवलि गर्नुपर्ने जनाइएको छ,’ प्रधानमन्त्री अध्यक्ष रहेको समितिले पारित गरेको कार्यक्रममा छ, ‘राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क/स्मारिका प्रकाशन गर्नुका साथै संविधानको बहुपक्षीय आयाम उजागर गर्ने विभिन्‍न लेख/रचना संगालो प्रकाशन गर्ने।’

असोज ३ गते सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाइ तोप र बन्दुकको बढाईं गरेपछि संविधान तथा राष्ट्रिय दिवसका कार्यक्रम सुरु हुनेछन्।

‘राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात सहिदको आत्माको चीरशान्तिका लागि राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रदाञ्‍जली प्रकट गर्दै विभिन्‍न धार्मिक संघसंस्थाबाट विभिन्‍न मठ मन्दिर, चर्च, मस्जिद, बुद्ध बिहार, गुरुद्वारलगायत स्थानमा पूजापाठ तथा प्रार्थना कार्यक्रम सञ्‍चालन गर्ने,’ पारित कार्यक्रममा उल्‍लेख छ।

असोज ३ गते संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी तथा संघसंस्थाका कर्मचारी हातहातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी गर्नुपर्ने छ। त्यसपछि काठमाडौं उपत्यकाको हकमा सैनिक मञ्‍च टुँडिखेल, प्रदेश र स्थानीय तहको हकमा तोकिएको स्थानमा उपस्थित हुनुपर्ने छ। यो दिन सातै प्रदेशको सांस्कृतिक विविधता झल्कने गीत र नृत्य प्रदर्शन गरिने छ भने हेलिकप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शनी गरिने छ। साँझ दिपावली गरिने पारित कार्यक्रममा उल्लेख छ।

‘वस्तु तथा सेवा बिक्रीममा व्यापक र विशेष छुट दिन व्यवसायीको छाता संगठनमार्फत् निजी क्षेत्रका व्यवसायीलाई आह्वान र अनुरोध गर्ने,’ कार्यक्रममा छ, ‘सार्वजनिक चोकमा राष्ट्रिय गान र राष्ट्रभक्तिका गीत/कन्सर्ट, महोत्सव आदि गर्ने व्यवस्था मिलाउने।’

असोज ४ गते सबै जिल्लामा वृक्षारोपण कार्यक्रम गरिने छ। स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रसको समन्वयमा मुलुकभरि खुला रक्तदान कार्यक्रम गरिने जनाइएको छ। नेपाल न्यूजबाट 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*