मेयर महत उपमहानगरको अविकसित क्षेत्रमा, स्थानीयले राखे गुनासै-गुनासा
मकवानपुर । उपमहानगरपालिका भएपनि हेटौंडाका कतिपय वडामा न बिजुली बत्ति छ, न खानेपानी । फोन सम्पर्क समेत नहुने क्षेत्र पनि हेटौंडा उपमहानगरपालिकाभित्र छ ।
हेटौंडा उपहानगरपालिका वडा नम्बर १६ को आकाशधारा पानी सारा क्षेत्रका नागरिक आधारभूत आवश्यकता बीच संघर्ष गरिरहेका छन् । उपमहानगरपालिका भएपनि सामान्य आधारभूत सेवा सुविधा समेत नपाउँदा स्थानीय सरकारसंग नागरिकले असन्तोष प्रकट गरेका छन् । उपमहानगरपालिका क्षेत्रमा मोबाईल फोन सम्पर्क समेत नहुँदा आफूहरु सन्चारबाट बन्चित हुनुपरेको पीडा उनीहरुले व्यक्त गर्छन् । यो अविकसित क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार अवलोकन गरे ।
उपहामहानगरका मेयर आएपछि स्थानीयले विभिन्न गुनासा तेर्साए । शिक्षा, स्वास्थ्य, बिजुली लगायत समस्यासंग आफूहरु जुधिरहेपनि स्थानीय सरकारले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नतर्फ ध्यान नदिएको उनीहरु गुनासो गरे । अबका दिनमा आफूहरुको यस्ता दैनिक जीवनका समस्या समाधान गरिदिन मेयर महतसंग स्थानीयले आग्रह गरे ।
स्थानीयका समस्या सुनेपछि मेयर महतले उपमहानगरपालिकाका तर्फबाट आफूले गर्नसक्नेसम्म कार्य गर्ने बताए । मेयर महतसंगै हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला पनि स्थानीयको समस्याबारे बुझ्न आकाशधारा पानी सारा क्षेत्र पुगेका थिए । सो क्षेत्र बाराको निजगढ नगरपालिका वडा नम्बर १३ संग सिमाना जोडिएको छ ।